वाम गठबन्धन भन्छ–‘चुनाव टार्नु असह्य’

96 0

कार्तिक १०, २०७४-एमाले र माओवादी केन्द्र गठबन्धनले मंसिरमा हुने निर्वाचन प्रतिकूल हुने कुनै काम नगर्न सरकार र सम्बद्ध पक्षलाई चेतावनी दिएको छ । सर्वोच्च अदालतले अघिल्लो दिन मतपत्रको विवादमा निर्वाचन आयोगलाई जारी गरेको आदेशप्रति कडा प्रतिक्रिया दिँदै गठबन्धनका नेताहरूले निर्वाचन प्रक्रियामा बाधा भए व्यवस्थापिका–संसद्समेत स्वत: पुन:स्थापना हुने दाबी गरे ।

‘मुलुक निर्वाचनमा अग्रसर भइसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक विवादमा नअल्झी घोषित समयमा निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान पुर्‍याउन सम्बद्ध सबैसँग आग्रह गर्दछौं,’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चको आदेशप्रति आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गर्दै गठबन्धनले संविधान र कानुनअनुसार आयोगले काम गरिरहेको अवस्थामा कुनै हालतमा निर्वाचन सार्न नमिल्ने जनाएको छ । ‘राजनीतिक दल र सम्बन्धित संस्थाहरूबीच छलफलपछि तय भएको मंसिरमा हुने निर्वाचनलाई कुनै निहुँमा सार्ने, टार्ने वा बिथोल्ने कामकुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हितविपरीत हुन जान्छ,’ विज्ञप्तिमा छ ।

नेपालको सार्वभौमसत्ता नेपाली जनतामा रहेको र निर्वाचनमा प्रतिकूल प्रभाव र असर पार्ने कुनै पनि काम नेपाली जनतालाई सह्य नहुनेतर्फ सबैलाई सचेत तुल्याउन चाहेको त्यसमा उल्लेख छ । सर्वोच्चले बुधबार मतपत्र छपाइसम्बन्धी प्रगति विवरण ३ दिनभित्र बुझाउन आयोगलाई आदेश दिएको थियो । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि अलग–अलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुरूप यस्तो मतपत्र छाप्ने कार्यमा के कति प्रगति भएको छ भनी जवाफ पठाउनसमेत आदेश दिएको थियो ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभाको बेग्लाबेग्लै मतपत्र हुनुपर्ने दाबीसहित दायर रिटमा सर्वोच्चको संयुक्त इजलासले यसअघि नै मागअनुसार आदेश जारी गरेको थिएन । समानुपातिकतर्फ मतपत्र छापिइसकेको र प्रत्यक्षतर्फको कात्तिक १० देखि छपाइ हुने जानकारी आयोगबाट पाइएको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको थियो । शुक्लले नै फेरि आयोगले अदालतको अपहेलना गरेको भन्दै दिएको निवेदनमा भने बुधबार सर्वोच्चको एकल इजलासले प्रगति विवरण मगाउन आदेश दिएको हो ।

 

‘अपहेलना भयो, भएन भनी नसोधेर मागेको भन्दा बढी व्याख्याले सबैको ध्यान गएको हो । अग्रगमनको यात्रालाई कसैले नरोकोस्,’ गठबन्धनद्वारा संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक प्रक्रियालाई कसैले अवरोध गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सह्य छैन । लोकतन्त्र कसैले किस्तीमा राखेर दिएको उपहार होइन ।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले अघिल्लोपटक संयुक्त इजलासले टुंग्याएको विषयलाई एकल इजलासले पुन: आदेश गर्दा आफूहरूको मनमा चिसो पसेको उल्लेख गर्दै भने,

‘निर्वाचन नभाँडियोस् । हामी सबैलाई भन्न चाहन्छौं ।’

दाहालले निर्वाचनमा मनोनयन प्रक्रिया सुरु भएकाले व्यवस्थापिका–संसद्को प्रयोजन सकिएको तर निर्वाचन हुन नसके संसद् स्वत: ब्युँतिने दाबी गरे । ‘निर्वाचन प्रक्रिया सुरु भएकाले संसद् भंग जस्तो भएको हो । चुनाव नहुने हो भने संसद् स्वत: ब्युँतिन्छ । किनकि यो संसद्को म्याद संविधानले नै आगामी माघ ७ गतेसम्म दिएको छ,’ दाहालले भने ।

संसदको अन्तिम बैठकका दिन सभामुख ओनसरी घर्तीले ‘संसद् बैठक भंग नभनी स्थगित’ मात्र भनेको प्रसंगलाई दाहालले उल्लेख गरे । उनले भने, ‘संसद् स्थगित भएको हो, भंग होइन । यसतर्फ पनि ख्याल गर्नुपर्छ ।’

 

प्रतिक्रिया

Related Post

काँग्रेस संगठित हुनुको विकल्प छैनः महामन्त्री कोइराला

Posted by - February 23, 2018 0
बेसीशहर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । लमजुङको…

ढिलो चाँडो जसरी पनि प्रधानमन्त्री भएरै छोड्छु : प्रचण्ड

Posted by - February 14, 2018 0
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ढिलोचाँडा जसरी पनि प्रधानमन्त्री भएरै छोड्ने दाबी गरेका छन् । गृहजिल्ला चितवनमा आयोजित…

ओलीले यी ४ कारणले हार्दैैछन् झापा क्षेत्र ५ मा !

Posted by - November 20, 2017 0
कारण नम्बर १: पहिला पनि भोट दिएर जिताएरै पठाए ओलीलाई । त्यसपछि कहिल्यै साविकको जुरोपानी, कोहोबरा, गौरिगञ्ज तिर ओली फर्किएनन् ।…

कांग्रेस र माओवादी कार्यकर्ताबीच हानाहान

Posted by - November 10, 2017 0
सोलुखुम्बु । चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमाआधा दर्जन घाइते भएका…
%d bloggers like this: