दरबारमार्गका व्यवसायी ‘फरार’

122 0

कार्तिक १२, २०७४-लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका व्यवसायीहरू सम्पर्कविहीन भएका छन् । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू सम्पर्कमा आएका छैनन् । ‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’ परिसरका डीएसपी बेलबहादुर पाण्डेले भने, ‘तर, व्यवसायीहरू फरार छन् ।’ उनका अनुसार व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । व्यवसायीहरू फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो । दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती दुई लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो । विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो । विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।

ती फाइलका आधारमा परिसरले पुन: अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका हुन् । ‘पसलमा प्रहरी पनि पठाएका थियौं,’ डीएसपी पाण्डेले भने, ‘सञ्चालकहरू फेला परेनन् ।’ व्यवसायीहरू अटेरी गर्न थालेपछि परिसरले थप कडा रूपमा प्रस्तुत हुने तयारी गरेको छ । दोस्रो चरणअन्तर्गत टेलिफोन ट्रेस गरेर प्रक्राउ गर्ने उनले बताए । ‘कालोबजारी गरेको आरोपमा फाइल दर्ता भइसकेको छ,’ उनले भने, ‘छिट्टै सम्पर्कमा नआए दोस्रो चरणअन्तर्गत फोन ट्रेस गरेर समात्छौं । यसलाई छिट्टै टुगोमा पुर्‍याउँछौं ।’ वकिलको रायअनुसार शुक्रबार कालोबजारी ऐनअनुसार परिसरमा मुद्दा दर्ता भएको जनाएको छ । व्यवसायीले पेस गरेको खरिद र बिक्री बिल हेर्दा २० प्रतिशतभन्दा उच्च मुनाफा राखेको छ । परिसरले सोही फाइलकै आधारमा कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले पनि व्यवसायीहरू फरार भएको जानकारी पाएको बताए । ‘हाम्रोतर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गरेर कारबाही गर्न प्रहरीलाई जिम्मा दिएका थियौं,’ उनले भने, ‘प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँदा फरार भएको जानकारी पाएको छु ।’

दरबारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरू फरार नभएको दाबी गरे । उनले प्रहरीले भन्नेबित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए । ‘व्यवसायीहरू केही कामका लागि कतै गएका हुन सक्छन् । फरार भएका छैनन्,’ उनले भने, ‘प्रहरीले भन्नेबित्तिकै भेट्नपर्छ भन्ने छैन । भेट्न अनिवार्य छैन ।’ उनले सबै व्यवसायीहरूको जिम्मा लिन नसक्ने बताए । ठगी गरेको भन्दै अनुगमन टोलीले पुमा, नाइकी, बेन्टले र स्टोर वानमा सिलबन्दी गरेको थियो । भदौ २१ गते दरबारमा पुन: अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो । त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।

केही दिनयता विभागले दरबारक्षेत्रमा पुन: अनुगमन सुरु गरेको छ । टोलीले बुधबार स्पोर्टस प्लाजा प्रालि, बिना फेसन हाउस, अपसनमा अनुगमन गरेको थियो । त्यसक्रममा पनि व्यवसायीले दर्ताअनुसार साइनबोर्ड नराखेको, दर्ता नवीकरण नगरेको फेला परेको थियो । यस्तै तीनै पसलमा लत्ताकपडाको मूल्य र बिक्री मूल्य धेरै अन्तर भएकाले अनुसन्धानका लागि बिलहरू अनुगमन टोलीले विभागमा लगेको जनाएको छ । टोलीले आइतबार दरबारमार्गमा अनुगमन गर्दा श्रीहनु ट्रेडर्स/जोडिकले पनि खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मूल्य राखेर बिक्री गरेको पाइएको थियो । ती व्यवसायीलाई स्पटीकरणको लागि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । ‘अनुगमन गरी केही थान अनुसन्धानका लागि विभागमा ल्याएका थियौं । प्रमाण जुटाउन थालेका छौं,’ महानिर्देशक दाहालले भने, ‘सम्पूर्ण कागजात तयार गरेर राजस्व अनुसन्धानमा पठाउँछौ ।’ अर्थ मन्त्रालयले न्यून बिजकीकरण नियन्त्रण नगर्दा बजारमा समस्या भएको उनले बताए ।

प्रतिक्रिया

Related Post

बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी: यसरी पत्ता लाग्यो

Posted by - December 3, 2017 0
कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् ।…

एनआईबीएल क्यापिटल र एस क्यापिटल गाभिँदै

Posted by - November 10, 2017 0
काठमाडौं, (नेस) एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ। बिहीबार सम्पन्न सम्झौतामा एनआईबीएल क्यापिटलका…

गेजुवासँगको सम्झौता खारेज

Posted by - November 14, 2017 0
कार्तिक २८, २०७४-दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज…
%d bloggers like this: