घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

110 0

कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका नेता र पार्टीहरूले एउटै घोषणापत्र बनाएर चुनाव लडेको भए के फरक पथ्र्यो र ! वामपन्थी गठबन्धन, नेपाली कांग्रेस, नयाँ शक्ति र राप्रपाका घोषणापत्रमा रहेका कृषि विकासका अंशहरूमा घोत्लिँदा थाहा हुन्छ, पदका लागि चाकडी गर्ने विज्ञ नेताले औपचारिकताका लागिमात्र यी तयार पारिदिएका हुन् । घोषणापत्रमा पार्टीहरूले विकासको दृष्टिकोण बिनै रणनीति, योजना र कार्यक्रमको खिचडी सार्वजनिक गरेका छन् । मतदातालाई आफ्ना कुरा बुझाउने धेरै प्रयास पनि गरिएको छैन ।

घोषणापत्रमा कृषि विकास रणनीति, योजना र कार्यक्रम लेख्नेहरूले कृषि विकासको नेपाली परिवेश र आयामहरूको छेउटुपोको भेउ नै नपाएको देखिन्छ । कृषि विकासका प्रस्तावनामा कृषिको व्यवसायीकरण, आधुनिकीकरण र व्यापारीकरण गर्ने उद्घोष गरिएको छ । हनुमानले बोकेका पहाडजस्ता लाग्ने ठूलठूला कुरामात्र उल्लेख गरिएका घोषणापत्रभित्र सबै कुरा अटेका छन् । तर यसबाट कृषि क्षेत्रको विकास सम्भव छैन । त्यसो त घोषणापत्रमा लेखेर मात्र विकास हुने भए हामी यस्तो अवस्थामा रहने पनि थिएनौं ।

२७ वर्षदेखि शासनसत्तामा रहेका अहिलेका मुख्य पार्टीहरूका घोषणापत्रमा समेत नेपालको कृषि निरन्तर कमजोर भएको कतै स्वीकारसम्म गरिएको छैन । अझ उदेक लाग्ने कुरा त के छ भने कृषि सपार्ने जिम्मेवारी लिएको तर यसमा पूर्णरूपमा असफल कृषि मन्त्रालय र मातहतको संरचना पुनर्गठनको चर्चासम्म कतै छैन । घोषणापत्रले हराभरा खेतबारीमा रमाउन छाडेर रोजगारी र आम्दानीको खोजीमा दशकौंदेखि खाडी मुलुक भौंतारिन बाध्य युवा किसानको भविष्य सुरक्षित कसरी गर्न सकिन्छ भनेर कतै बोल्दैनन् । उल्टै हाम्रो देशमा किसान धेरै भए भन्दै संख्या घटाउने रणनीति बनाउने कुरा गरेर नेपाली कांग्रेसले किसानको अपमानसमेत गर्न भ्याएको छ । यसले किसानको संख्या घोषणापत्रमा लेखेर घट्दैन । आम्दानी र रोजगारीका अन्य क्षेत्र विस्तार भए यो संख्या स्वाभाविक रूपमा घट्छ ।

सबै घोषणापत्रमा उल्लेख कृषिका प्रस्ताव कृषि विकास मन्त्रालयको योजना शाखाले प्रस्तुत गर्ने गरेको रणनीति, योजना र कार्यक्रमभन्दा कुनै पनि अर्थमा उन्नत र स्तरीय छैनन् । उदाहरणका लागि आफ्ना आसेपासे मात्र पोस्न सफल भएको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम’ वाम गठबन्धनको मूल कार्ययोजनाका रूपमा प्रस्तुत छ । त्यसैगरी नेपाली कांग्रेसले गतवर्ष प्रस्तुत गरेको सरकारको कार्यक्रमलाई आफ्नो घोषणापत्रमा कतै–कतै केरमेट गरी सारेको मात्र देखिन्छ ।

अहिले निरन्तर खाद्यान्न आयात बढिरहेको सन्दर्भमा, दुई वर्षमै यसमा आत्मनिर्भर र पाँच वर्षमा खाद्यान्न लगायतका कृषिउपज निर्यात गर्ने भन्ने ठूला पार्टीहरूको घोषणा संंयोगमात्र होइन होला । यो त निरन्तर आयात बढेकोमा बुझ पचाएका कृषि तथा पशु विकास मन्त्रालयका निर्लज्ज हाकिमहरूको मानो पचाउने सन्दर्भमा सहीछाप गरिएको घोषणा पनि हो । किनकि यस्तो घोषणा सरकारको वार्षिक योजनामा हरेक वर्ष गरिने गरेको छ । कुनै ठोस प्रस्ताव र कार्यक्रमबिना गरिएको यो प्रक्षेपणको स्रोत कागजमा मात्र कृषि क्षेत्रको उत्पादन बढाउने सरकारी अधिकारीहरूको तजबिज मात्र हो । किसानका आफ्नै प्रयत्न र परिश्रमले देखिएका आसलाग्दा उदाहरणहरूको कुरा भिन्नै हो ।

अहिले कृषि विकासका धेरै कार्यभार स्थानीय सरकारको जिम्मामा लगाइएका छन् । एकातिर स्थानीय सरकारहरू आफ्नै महत्त्वाकांक्षी योजनाका कुरा गर्नमै अल्झेका छन् भने अर्कोतिर कृषि विकास कार्यालयहरूले ‘सबै जिम्मा स्थानीय सरकारमा सारियो, अब सहयोग खोज्न उतै जानु’ भन्ने उर्दी गर्दै टक्टकिने गरेका छन् । स्थानीय सरकारमा खटाइएका कर्मचारीले सजाय पाएको गुनासो गर्ने गरेबाट पनि कृषि अझ बेवारिसे हुने लक्षण देखिँदैछ । यस्तो अवस्थाको भेउ नै नपाएको देखिन्छ ।

‘आगामी दस वर्षमा नेपाललाई प्रांगारिक मुलुक घोषणा गरिनेछ ।’ वाम गठबन्धनको यो घोषणालाई नयाँ शक्तिले २० वर्षमा पूरा गर्ने लक्ष्य राखेको छ । सायद यो नयाँ शक्तिको आफ्नो कद अनुसारको घोषणा भनेर चित्त बुझाउनुपर्ला । नेपाली कांग्रेसले त यति भन्ने पनि आँट गरेको छैन । यसलाई वन, वातावरण र जडिबुटी व्यवस्थापनको बढी चिन्ता छ । साँच्ची नै नेपाललाई १० वर्षमा प्रांगारिक मुलुक बनाउने हो भने त्यसका पूर्वाधारमा आजैदेखि काम गर्नुपर्छ । नेपाललाई प्रांगारिक मुलुक बनाउने सुन्दा रोमाञ्चक लागे पनि यसका लागि कुनै आधार प्रस्ताव गरिएका छैनन् । त्यसैले यो ढाँटको मानो खाई पत्याउने भनेजस्तै हो ।

गठबन्धनको घोषणापत्रमा रासायनिक, प्रांगारिक मल र जैविक विषादीका कारखाना खोल्ने कुरा गरिएको छ । मल र विषादीका कारखाना नभएर कृषि नसुध्रेको भन्ने कुरा त्रुटिपूर्ण मात्र छैन, यसले किसानलाई परनिर्भर बनाउने धेय राख्छ । यो नाफा कमाउने व्यापारिक कृषिप्रतिको मोह हो । यो त किसानले आफ्ना गोठ र भकारा सुधार गरेर, कम्पोष्ट र अन्य जैविक मल तयार गरेर मात्र सम्भव हुने कुरा हो । यस्ता कारखाना बनाउने नाममा विगतमा सरकारी अनुदानका रकम आफ्ना खास कार्यकर्तालाई बाँड्ने र मिलेमतोमा बाँडीचुँडी गरेका सयौं घटना छन् । यो घोषणा तिनै कृषि क्षेत्रका दलाललाई खुसी बनाउनका लागि हो भने बेग्लै कुरा, नत्र प्रांगारिक कृषि अभियान यस्ता बिचौलिया पोस्ने योजनाबाट सम्भव हुँदैन ।

सबैका घोषणामा वैज्ञानिक भूमिसुधारले राम्रै ठाउँ ओगटेको छ । पाँच दशकसम्म हुन नसकेको भूमिसुधारको कुरा फेरि पनि सबै पार्टीले उठाएका छन् । विगतमा सुकुम्बासी, विपन्न र भूमिहीनको भोट तान्न प्रयोग गरिएको यो हतियार भुत्ते भएको थाहा नभएर या अझै पनि भोट किन्ने मानसिकताबाट ग्रसित छ, यो प्रस्ताव । त्यसैगरी बाँझो जमिन, सहकारी र सामुहिक खेती सबैका घोषणापत्रमा महत्त्वका साथ उठाइएका छन् । यी कुनै नयाँ प्रस्ताव हैनन् । जमिन बाँझो भएकै एक दशक भैसक्यो । यो निरन्तर बढिरहेको छ । आजसम्म कुनै ठोस योजना नबनाउने तिनै दल हुन् ।

कृषि विकास रणनीतिले २० वर्षमा पानी लाग्ने असी प्रतिशत ठाउँमा सिंचाइ पुर्‍याउने प्रस्ताव गरेकामा पार्टीहरूका घोषणाले पाँच वर्षमै पूरा गर्ने लक्ष्य लिएको छ । त्यतिमात्र हैन, एकीकृत नदी प्रणाली र डाइभर्सनका प्रस्ताव पनि छन् । यो घोषणाले कृषिभूमि सिंचाइको खिल्ली उडाएको छ ।

समग्रमा, यी घोषणाले नेपाली कृषिलाई व्यावसायिक बनाउने नाममा नाफामात्र कमाउने व्यापारिक कृषिको नीति, योजना र कार्यक्रम बनाउँदै सधैंका लागि असफल बनाउन मलजल गरिरहेको देखिन्छ । उच्च लगानीको रसायनमा आधारित कृषिको पक्षपोषण नेपाली कृषि सपार्ने सोचबाट नभई नाफामात्र कमाउने ठूला व्यापारी र तिनको स्वार्थबाट प्रेरित भएको देखिन्छ ।

अर्को कुरा, कृषि क्षेत्रका चुनौतीहरू सामना गर्न तथा यसका समस्याहरूलाई व्यावहारिक रूपमा सम्बोधन गर्न स्थानीय तहमै कृषि तथा खाद्य प्रबद्र्धनको दूरदृष्टि र योजनाबिना सम्भव छैन । स्थानीय सरकारलाई यसतर्फ सचेततापूर्वक लाग्न सहयोग गर्नुको साटो गोलमटोल घोषणापत्र बनाएर पार्टीहरूले आफ्नो हैसियत देखाएका छन् । नेताहरूले भन्ने गरेको राष्ट्रवाद र समृद्धि कृषि क्षेत्रको विकास गरेर यो देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन नसकेसम्म आउँदैन

 

प्रतिक्रिया

Related Post

चीनको सपना र भविष्य

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-‘चण्डाल चौकडी’ (ग्याङ अफ फोर) को क्रूरतम पञ्जाबाट राष्ट्रलाई मुक्त गरेपछि सन् १९७८ मा सत्ता सम्हालेका नेता तेङ…

किन गल्ती गर्छन् डाक्टर

Posted by - March 4, 2018 0
काठमाडौं –  २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको…

संघीयता र अर्थतन्त्र

Posted by - February 4, 2018 0
केशव आचार्य संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। प्रादेशिक संसद् गठन भइसकेको छ। प्रश्न उठ्न थालेको छ– प्रादेशिक संरचना राज्यले…
%d bloggers like this: