चर्चाको शिखरमा चितवनको चुनाव

116 0

रत्ननगर (चितवन), कात्तिक २४ गते ।  मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरू नै चुनावी प्रतिस्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरू सबैको चासो र चर्चाको विषय बनेको छ ।   मतदाता मनोज अर्याल पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिस्पर्धा निक्कै चासोको विषय बनेको बताउनुहुन्छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षणमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ ।  तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल नै चुनावी मैदानमा हुनुहुन्छ ।
उहाँको प्रतिस्पर्धीका रूपमा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बहालवाला वन तथा भूसंरक्षणमन्त्री पाण्डे रहनुभएको छ ।  दाहाल वाम गठबन्धनबाट उम्मेदवार हुनुभएको हो भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट आउनुभएको हो ।
पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गर्नुभएका दाहालले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दाबी गर्नुभएको छ ।  पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय हुनुहुन्छ ।
उहाँहरूसहित कुल १४ जनाको उम्मेदवारी रहेको चितवन क्षेत्र नम्बर ३ मा अर्का पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री एवं नेकपा (माले)का नेता श्रेष्ठको समेत उम्मेदवारी छ ।  सो क्षेत्रमा छ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।
चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री तथा सांसद शेषनाथ अधिकारीको उम्मेदवारी परेको छ ।  उहाँसँग वाम गठबन्धनबाट नेकपा (एमाले)का नेता तथा सांसद कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।
देवघाटबाट जनताको आशीर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल भन्नुहुन्छ, “जिल्लामा वाम गठबन्धनको जित सुनिश्चित छ । ” अधिकारी आफू यहाँको ‘अग्र्यानिक’ उम्मेदवार भएकाले मतदाताहरूले मत दिने दाबी गर्दै चुनावी अभियानमा हुनुहुन्छ ।
यसअघिको निर्वाचनमा पोखरेल क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो भने अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।  चितवन क्षेत्र नम्बर २ मा १५ जनाको उम्मेदवारी रहेकामा तीन जना स्वतन्त्र उम्मेदवार छन् ।
अहिले निर्वाचन क्षेत्र ५ बाट ३ मा झारिएकाले मतदाताहरूको भोट बाँडिने भएर आँकलन गर्नसक्ने स्थिति छैन तर स्थानीय तहमा आएको पार्टीहरूको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ ।
त्यसो त चितवन क्षेत्र नम्बर १ मा एमालेका पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।  उहाँका प्रतिस्पर्धीमा नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा हुनुहुन्छ ।  दाहाललाई देखाउँदै पाण्डेले जिल्लाको विकास दुई भाइले गरेरै छाड्ने बताउनुभयो ।  यहाँबाट प्रतिनिधिसभामा उठ्नुभएका १३ उम्मेदवारमध्ये तीन जना स्वतन्त्र हुनुहुन्छ ।  यसअघि २०७० को निर्वाचनमा पनि उहाँहरूबीच नै प्रतिस्पर्धा भएको थियो ।
प्रदेशसभातर्फ यस्ता छन् उम्मेदवार
चितवनमा मुख्य दलहरूबाट उम्मेदवार बनेका नेताहरू अहिले भोट माग्न घरदैलोमा व्यस्त छन् ।  क्षेत्र नम्बर १ मा प्रदेश (क)मा काँग्रेसका धनबहादुर गुरुङ तथा (ख) मा उत्तम आचार्य हुनुहुन्छ ।
क्षेत्र नम्बर २ को प्रदेश (क)मा जीतनारायण श्रेष्ठ र (ख)मा प्रकाश अधिकारी तथा क्षेत्र नम्बर ३ को प्रदेश (क)मा दिनेश कोइराला र (ख)मा साजनकुमार महतो प्रतिस्पर्धामा हुनुहुन्छ ।
यता वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश (क)मा दावा लामा र (ख)मा कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रदेश (क)मा घनश्याम दाहाल र (ख)मा विजय सुवेदी हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर ३ को प्रदेश (क)मा कृष्ण भुर्तेल र प्रदेश (ख)मा रामलाल महतो चुनावी मैदानमा हुनुहुन्छ ।
मतदाताको अवस्था र मतदान स्थल
अघिल्लो निर्वाचनको भन्दा ४१ हजार मतदाता थपिएर यसपटक जिल्लामा कुल ३ लाख ५४ हजार ३६ पुगेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।  उहाँका अनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् ।  यहाँ कुल ५६ वटा मतदान स्थल तोकिएको छ ।
क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् ।  यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ ।  यस्तै क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका छन् ।  मतदान स्थल भने ६२ तोकिएको ढकालले बताउनुभयो ।
जिल्लामा कुल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ ।  चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ ।  यस्तै क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।

प्रतिक्रिया

Related Post

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

Posted by - December 3, 2017 0
१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई…

एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

Posted by - November 26, 2017 0
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले…

एमाले माओवादी एकता कसैले रोक्न सक्दैन : केपी ओली

Posted by - November 23, 2017 0
दाङ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएरै छोड्ने बताउनुभएको छ…

स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउछौंः अध्यक्ष महतो

Posted by - April 9, 2018 0
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महतोले संविधान…
%d bloggers like this: