चुनावी घोषणापत्रमा विदेश नीति

99 0

कार्तिक २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले मुलुकको परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग दाँज्दै कूटनीति सञ्चालनमा आफूअनुकूल व्याख्या गरेका छन् । मुलुकको स्वाभिमान, स्वाधीनता, सम्मान र हितमा कसैसँग पनि कुनै किसिमको सम्झौता नहुने विषय घोषणापत्रमा रहे पनि सञ्चालन र विधिका विषयमा भने दलहरू चुकेका छन् ।

घोषणापत्रमा दलहरूको कूटनीति सञ्चालनको आधार उस्तै देखिए पनि प्राथमिकता फरक छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको वाम गठबन्धन, राप्रपा तथा अन्य प्रतिस्पर्धी दल सबैले नेपालले हाल अवलम्बन गर्दै आएको नीतिअनुसारै परराष्ट्र सम्बन्ध उल्लेख गरेका छन् तर त्यसमा दिएको प्राथमिकताले सञ्चालन विधि मात्र होइन, केही लक्ष्य नै फरक हुने देखिन्छ । नेपाली कांग्रेसले २०१५ सालमा लेखेको विदेश नीतिलाई अहिले पनि निरन्तरता दिएको छ । परिवेशअनुसार चलायमान रहेको भए पनि आधार त्यही छ । ‘विदेश नीति सबै राष्ट्रसित समानताका आधारमा मित्रता गर्नु हुनेछ । नेपाली कांग्रेस कुनै पनि सामरिक गुटमा लाग्नेछैन,’ २०१५ सालमा जारी कांग्रेसको घोषणापत्रमा थियो, ‘कांग्रेस आफ्ना महान् छिमेकी राष्ट्रहरूसित पूर्ण मित्रता राख्नेछ ।’

त्यही आधारमा रहेर कांग्रेसले अहिले विदेश नीतिलाई व्याख्या गरेको छ । कांग्रेसले भनेको छ, ‘अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व राजनीति जटिल, संवेदनशील र तरल अवस्थामा छ । शीतयुद्धको समाप्तिसँगै एकतन्त्रीय र अधिनायकवादी साम्यवादी शासन पद्धतिको पतन हँुदै विश्वमा अप्रत्याशित, आमूल र दूरगामी परिवर्तन भइरहेका छन् । बढ्दो आतंकवाद र गैरराज्यशक्तिको उदयले अस्वस्थता, अशान्ति, उद्दण्डताको बीउ रोपेको छ । साम्प्रदायिकता, धर्मान्धता, झर्रो राष्ट्रवाद तथा हिंसात्मक गतिविधिले विखण्डनशील प्रवृत्तिलाई बढावा दिइरहनेछ ।’

यो धारणालाई ख्याल गर्दै कांग्रेसले राष्ट्रिय सहमति निर्माण गरी एउटै नीति, एउटै आवाज, एउटै व्यवहार तथा एउटै माध्यमको अवधारणाअनुरूप सबै सम्बद्ध निकाय र नेतृत्वबाट कूटनीतिक मर्यादाको पूर्ण पालना गराउने विषयमा जोड दिएको छ ।

वाम गठबन्धनको घोषणापत्रमा छिमेकी तथा बाह्य मुलुकसँग गरिएका सबै असमान र अपमानजनक सन्धिसम्झौतालाई राष्ट्रिय हितअनुरूप प्रतिस्थापित गर्ने नीति उल्लेख छ । यही काम यसअघि नै बनेको नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले गरिरहेको छ । यसको पाँचांै बैठकसमेत भइसकेको छ । ईपीजीमा दिएको सुझावका आधारमा हुने प्रतिस्थापनलाई ध्यान दिएर वाम गठबन्धनले यो धारणा राखेको अनुमान गरिएको छ । ‘भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौता पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिनेछ,’ गठबन्धनको घोषणापत्रमा छ, ‘सीमा समस्याको समाधान र सीमा नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिनेछ । दुई देशको विकासबाट समृद्धिमा नेपाललाई फाइदा हुने नीतिमा जोड दिइनेछ ।’

मुलुकको स्वाधीनता र विकासका आधारमा जोड दिँदै छिमेकसँगको सम्बन्ध सुधारमै घोषणापत्र केन्द्रित छ । समानता, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिने विषयमा पनि उनीहरूले जोड दिएका छन् । घोषणापत्रमा भनिएको छ, ‘राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका संघ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकासको योजना कार्यान्वयन गरिनेछ ।’

यस्तै, विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको समृद्धिमा योगदान पुर्‍याउने गरी अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिलाई व्यवस्थित गरिने पनि वाम गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र हीनताबोध तथा आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिनेमा पनि एमाले–माओवादी गठबन्धनको जोड छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा विदेशी चलखेल र प्रभावमा वृद्धि भएको निष्कर्ष निकालेको छ । गत दुई दशकको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै राप्रपाले भनेको छ, ‘नेपाललाई अस्थिर तुल्याई आफ्नो अभीष्ट पूरा गर्न चाहने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिको चलखेल, गठबन्धन र नियोजित षड्यन्त्र विभिन्न रूपमा प्रकट भइरहेका छन् । नेपालमा विदेशीको चलखेल, प्रभाव र हस्तक्षेप बढ्नुमा बाह्य शक्तिलाई मात्र दोषारोपण गर्नुको सट्टा हामीले आफ्नै कमजोरी र हीनताबोधलाई पनि जिम्मेवार ठान्नुपर्नेछ ।’

राष्ट्रिय स्वार्थ र स्वभिमानको रक्षाका लागि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने देखिएको राप्रपाले उल्लेख गरेको छ ।

राप्रपाले नेपाललाई दक्षिण एसियाको जेठो मुलुकको संज्ञा दिँदै विदेशी शक्तिको अधीनमा नरहेको हेक्का राखेर अघि बढ्नुपर्ने उल्लेख गरेको छ । विगतमा अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको विशिष्ट स्थान र गौरवपूर्ण पहिचान कायम रहेको भन्दै राप्रपाले त्यो गरिमा राख्न जोड दिनुपर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कमजोर मात्र होइन, राष्ट्रिय स्वाभिमान र स्वार्थमा समेत प्रतिकूल प्रभाव परेको राप्रपाको दाबी छ । देशभित्र विकसित भएको आत्मसमर्पणवादी मानसिकताको परिणामस्वरूप बाह्य शक्तिको चलखेल बढ्न गएको निष्कर्ष उसको छ । त्यस्तै, अन्य मधेसवादी दल तथा साना दलले पनि नेपालको पछिल्लो असहज अवस्था र कूटनीति सञ्चालनमै जोड दिँदै असंलग्न कूटनीतिलाई बढावा दिनुपर्ने उल्लेख गरेका छन् । छिमेकीसँगको सम्बन्ध र सहकार्यलाई ख्याल गरेर अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । बदलिँदो विश्व परिवेशअनुसार कूटनीति सञ्चालन हुनुपर्छ भन्ने मान्यता ती दलको छ ।

यस्तै, विवेकशील साझा पार्टीले उत्तर–दक्षिण नीति भन्दै पुरानै असंलग्न नीतिमा जोड दिएको छ । चीन र भारतबीच नेपाललाई विलीन हुनबाट बचाउने प्रकारको विदेश नीति अख्तियार गर्न आवश्यक भएको उक्त पार्टीले औंल्याएको छ । मुलुकलाई समृद्ध बनाउनकै लागि गरिने प्रयासलाई विदेश नीतिको आधार मान्दै विवेकशीलले नेपाललाई विश्वको केन्द्रविन्दुका रूपमा चिनाउने विषय उल्लेख गरेको छ । दुई देशको पुलको काम गर्ने विषयलाई विवेकशीलले उल्लेख गरेको छ ।

दलहरूले नेपालले उपलब्धि हासिल गरेको शान्ति प्रक्रियाको सकारात्मक पाटोलाई विश्व समुदायमा लैजाने विषय भने घोषणापत्रमा उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया

Related Post

हेर्नुहोस कांग्रेसबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४० जनाकै नामसहित)

Posted by - December 20, 2017 0
काठमाडौं, ५ पुस । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउने भएको छ । जम्मा ६३…

पुष्प कमल दाहाल प्रचण्डको अबको भविष्य कस्तो ? यस्तो छ ज्योतिषको भविष्यवाणी

Posted by - December 3, 2017 0
ज्योतिष विज्ञानको अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली राजनितिमा २० वर्ष हावी हुने पक्का जस्तै देखिन्छ ।…

बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

Posted by - November 9, 2017 0
गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ । तर गोरखा–२ मा…

केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

Posted by - November 4, 2017 0
एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड…

सुविधाकाे उपभोग गर्दै ठूला दल आक्रामक प्रचारमा, उम्मेदवारका आफ्नै घोषणापत्र

Posted by - November 16, 2017 0
काठमाण्डौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल…
%d bloggers like this: