‘मलाई देखेर कोही नभागुन् ‘

113 0

गोरखा : उनी चाहन्छन् आफूसँग कोही नडराउन् । अरूजस्तै आफू पनि सामान्य मान्छे हो भन्ने सबैले अनुभूति गरिदिउन् । बस चढ्दा आफू सिटमा बसेपछि सँगैको मान्छे उठेर नजाउन् । सानैदेखि मान्छे डराएर भागेको भोगाइले देउराली प्युओरबेंसीका भगवान् शाह हैरान छन् । २० वर्षअघि स्कुल पढ्दा उनीसँगै पढ्ने विद्यार्थी डराएर भाग्ने गर्थे । यही पिरले सात कक्षा पढ्दा पढ्दै उनले पढाइ छाड्नुपर्‍यो ।

शाहको शिरदेखि पैतालासम्म जताततै मासु पलाएको छ । सुत्दा, बस्दा पोको पेलिएर असाध्यै दुख्छ । सुत्न, बस्न नमिलेर छटपटाउँदै रात काट्नुपर्दाको पीडा त छँदै छ भोलिपल्ट स्कुल जाँदा आफूसँग डराएर सहपाठी नै भाग्दा उनी रुने गर्थे । अहिले पनि खैरेनी, गोरखा बजार जाँदा उनलाई देखेर मान्छे तर्सिने गर्छन् ।

३८ वर्षीय शाहसँग यी पीडा साट्ने कोही छैनन् । ‘बुबा बित्नुभएको पाँच वर्ष भयो । त्यसको एक वर्षपछि आमा बित्नुभयो’, शाहले दुःख पोख्दै भने, ‘दिदी बिहे गरेर जानुभयो । दाइ छुट्टिएर काठमाडौं बस्नुहुन्छ । मसँग बिहे गर्ने को हुन्छ र ? ’ कपालदेखि हत्केला, पैतलामा समेत मासु पलाएर सहनै नसक्ने अवस्था भएको छ । ‘पुठ्ठामा मासुको पोका थियो, पेलिएर पाक्न थाल्यो’, उनले भने ।

यो पीडाबाट मुक्ति लिन भएको एउटा खेत बन्धकी राखेर अप्रेसन गरे । ६० हजार खर्च भयो । तर, त्यति खर्चले एउटा पोको मात्र फालियो । ‘एउटाका लागि त त्यति खर्च भयो, शरीरभरिको मासुको डल्लो फाल्न कति लाग्ला ? ’, अत्तालिँदै उनी भन्छन् । हत्केलामा मासु पलाएर राम्ररी समात्न, पैतालामा मासु पलाएर हिँड्नसमेत नमिल्ने अवस्था हुन थालेको उनी बताउँछन् । आँखाको दुवैतिर मासु पलाउन थालेको छ । कुनै दिन आँखा नै बन्द हुन्ने त्रासले अझ मरूँ कि बाँचुँजस्तो लाग्न थालेको उनले बताए । ‘बुबाआमालाई लाने कालले मलाई लिन किन नआएको होला ? ’, आफंैलाई धिक्कार्छन् उनी ।

भगवान् शाहलाई स्थानीयले राजदेवी प्राविमा परिचरको जागिर दिएका छन् । त्यहाँबाट मासिक चार हजार पाँच सय रुपैयाँ तलब पाउँछन् । ‘त्यही रुपैयाँ हो उसको बाँच्ने आधार’, छिमेकी सीता आचार्य भन्छिन्, ‘शरीरभरि फोकैफोका छ । पानी बोक्न, आगो फुक्न पनि सक्दैन । हामीले कतिपटक सहयोग पनि गरेका छौं तर सैधै सम्भव पनि हुन्न ।’ अर्का छिमेकी रामजी कैनीका अनुसार शाह सानो छँदा सग्लो र सुन्दर थिए । ‘सानोमा सर्लक्क, अग्लो, खाइलाग्दो ज्यान थियो उसको’, कैनी सम्झन्छन्, ‘तर पछि के भयो उसको अवस्था बिग्रियो । डक्टरले रगत बिग्रिएको भन्छ । अप्रेसन गर्न महँगो होला । खाने औषधि पनि छैन भन्छन् ।’

६० हजार रुपैयाँ तिर्न नसकेर बन्धकी दिएको खेत पनि निखन्न सकेका छैनन् । ‘सम्पत्तिको नाममा त्यही एउटा खेत थियो । बन्धकीमा छ । भूकम्पले भत्काएको घर कसरी बनाउने चिन्ता छ’, उनी भन्छन्, ‘ज्यान यस्तो छ, औषधोपचार गर्न पाए अर्को जुनी फेरेजस्तो हुन्थ्यो ।’ दुःखै गरेर भए पनि मान्छेजस्तो जीवन बिताउन नपाएकोमा उनलाई दुःख लागेको छ ।

प्रतिक्रिया

Related Post

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

Posted by - January 29, 2018 0
काठमाडौं- कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न…

आज विश्व क्यान्सर दिवस

Posted by - February 4, 2018 0
काठमाडौं– ‘अन्धविश्वासमा नबसौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाईंदैछ। क्यान्सर लागेमा निको हुँदैन…
%d bloggers like this: