हिम्मतवाली युवतीहरू

35 0

वरिपरि सिसा। बीचमा फलामका टुक्रा। कम्प्युटरको किबोर्डमा औंला नचाउने पाँच महिला पत्रकार फलामका टुक्राले घेरिएका थिए। कोही फलामका टुक्रा उचाल्दै थिए। कोही पुसअप गर्दै थिए। रोशा बस्नेत ढोकानजिकै एक्सरसाइज गर्दै थिइन्। देउराली चाम्लिङ पल्लो कुनामा व्यस्त थिइन्। अलि पर थिइन् कल्पना महर्जन। वल्लो कुनामा व्यस्त थिइन् रोजिता बुद्धाचार्य। हस्याङफस्याङ गर्दै आइपुगिन् प्रियालक्ष्मी कार्की। उनको छेउमा थिए केही गह्रुँगा झोला। देउरालीले सुटुक्क भनिन्, ‘२५ किलो छ भारी। आधा त नुन मात्रै छ।’

सगरमाथा आरोहण गर्न कस्सिएका यी पाँच महिला पत्रकार सोमबार बिहान प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको जिमखानाभित्र भेटिए। हिमाल चढ्न खोजेका उनीहरू शारीरिक फिटनेसका लागि त्यहाँ पुगेका थिए। यी पाँच महिला आगामी अप्रिल १ मा सगरमाथा आरोहण गर्दैछन्। त्यसका लागि एक सातादेखि जिमखानामा व्यस्त छन्। बिहानै उठेर दौडिनु, आठै बजे झोलामा २०÷२५ केजीको भारी बोकेर क्लब धाउनु, त्यसपछि आर्थिक संकलनका लागि विभिन्न ठाउँतिर दौडनु उनीहरूको दैनिकी बनेको छ।

जिद्दी युवतीहरू

सगरमाथा आरोहण-सपनासँग उनीहरूको साहस, जिद्दी र थोरै पागलपन जोडिएको छ। यी पाँचै सुन्दरी जिद्दी छन्। देउराली ‘फकिर’ स्वभावकी छन्। डुलिरहन मन लाग्ने। घरि र्‍याफ्टिङ गर्न पुग्छिन्, घरि बन्जी हान्न पुग्छिन्। कहिले प्याराग्लाइडिङमा उडिरहेकी हुन्छिन्। कुन बेला कहाँ पुग्छिन् थाहा हुन्न। डर, चिन्ता र बन्धनबाट टाढा बस्न रुचाउँछिन्। नेपालका ५० पर्यटकीय स्थलमा उनी एक्लै पुगिसकेकी छन्। एक्लै नयाँ ठाउँमा फुक्काफाल घुम्न औधि मन लाग्छ। कतिले उनको स्वभावलाई विरक्तिएको अर्थ पनि लगाए। तर, उनी भन्छिन्, ‘के थाहा एक्लै स्वतन्त्रताको उडान भर्नुको आनन्द।’

अर्की जिद्दी युवती हुन् रोशा। उनी निडर छिन्। अमेरिकी बमवर्षक विमान इराकी आकाशमा उड्दा उनी ७ कक्षा पढ्दै थिइन्। रोशाले बुसको नाममा अंग्रेजीमा चिठी लेखिन् र भनिन्, ‘युद्ध बन्द गर’। उनी मुडी पनि छिन्। सिन्ह्वा न्युज एजेन्सीमा समेत काम गरिसकेकी रोशा निकैअघि नै सगरमाथा चढ्ने योजनामा थिइन्।

बिहानै उठेर दौडिनु, आठै बजे झोलामा २०÷२५ केजीको भारी बोकेर क्लब धाउनु, त्यसपछि आर्थिक संकलनका लागि विभिन्न ठाउँतिर दौडनु उनीहरूको दैनिकी बनेको छ।

पत्रकारिता र रंगमञ्चमा जम्दै गरेकी रोजिताको पनि कुरा उस्तै छ। उनी आरोहणमा जाने भएपछि परिवारले उनलाई अनुमति दिएन। तर, उनको जिद्दी र साहसअगाडि केही चलेन। भन्छिन्, ‘परिवारको असहयोग नै मेरो लागि ठूलो सहयोग हो। दिदीहरूले सगरमाथा नचढ्नु भन्नुभयो। तर, म अब चढी छाड्छु।’

कल्पना महर्जन पनि कमकी छैनन्। ललितपुर सानोगाउँमा उनी एक्ली युवती थिइन्, जो पहिलोपटक साइकल चढेर हिँडिन्। मानिस उनलाई बिग्रिएकी केटी भन्थे। ठमेलमा भएको रक कम्पिटिसनमा प्रथम हुँदा साढे दुईमहिने शिशु घरमा छाडेर आएकी थिइन्। प्रतियोगितामा प्रथम भइन्। प्रमाणपत्र लिनेभन्दा पनि बच्चालाई स्तनपान गराउन हतारो थियो कल्पनालाई। बिहानदेखि स्तनपान गराउन नपाउँदा छाती रसाएको थियो। ‘प्रमाणपत्र कसैलाई पठाइदिनु’ भन्दै उनी हिँड्न खोजिन्। आयोजक हेरेको हेर्‍यै भए।

अर्की साहसी युवती हुन् प्रियालक्ष्मी। उनी निडर छिन्। बोल्ड स्वभावकी उनी कसैसँग झुक्दिनन्। त्यही निडर स्वभावले उनलाई सगरमाथा आरोहणको सँघारसम्म पुर्‍यायो।

घरमा असहमति र प्रार्थना

आरोहणका लागि उनीहरूले पहिले आफूलाई तयार पारे। त्यसपछि परिवारलाई। तर, सबैको परिवारले सहजै मान्न तयार भएनन्। रोजिताको परिवार अझै मान्न तयार छैनन्। घरमा मिटिङ भयो। मिटिङको एउटै एजेन्डा थियो, ‘रोजितालाई रोक्ने।’ तर, रोजिताको अठोटअगाडि परिवार गल्यो। रोजिताको घरमा बारम्बार गुञ्जिने शब्द हो, ‘सगरमाथा चढ्न खोजेर भविष्य बिगारी।’

कल्पनालाई पनि गाह्रो छ। समूहमा उनी मात्रै विवाहित हुन्। तर, कल्पनाको हिम्मतअघि परिवार झुक्न बाध्य छ। पर्यटन बिटमै काम गरिरहेकी उनी २०१४ मै सोलुखुम्बुको मेरापिक आरोहण गर्न गएकी थिइन्। स्वास्थ्य समस्या आएपछि उनी एक हप्ता कोमामा पुगेकी थिइन्। कल्पना अहिले त्यो दाग मेट्न चाहन्छिन्। सुरुमा पटक्कै नमान्ने उनका पति अचेल उनीसँगै उठ्छन् र बिहान उनीसँगै दौडिन्छन्।

देउरालीको परिवारलाई मनाउनचाहिँ गाह्रो भएन। सधैं नयाँ ठाउँ डुलिरहने छोरी सगरमाथा चढ्दै छिन् भन्ने खबर उनकी आमाका लागि नयाँ भएन। खबर थाहा पाउनेबित्तिकै आमाले नै गाउँभरि हल्ला गरिदिइन्। रोशा र प्रियालक्ष्मीको परिवारलाई सुरुमा मनाउन गाह्रो भए पनि अहिले सहमति नजिक छन्। छोरीको सफल आरोहणका लागि सबैजनाको घरमा प्रार्थना हुन्छ। रोशा भन्छिन्, ‘मेरो लागि मात्रै होइन, टिमकै लागि प्रार्थना गर्नु है आमा भनेकी छु।’

जुट्दै छ सहयोगी हात

हिमाल चढ्ने मानसिक तयारीपछि उनीहरू शारीरिक तयारीमा व्यस्त छन्। आर्थिक संकलनको काम पनि सँगै गरिरहेका छन्। झोलामा नुनसँगै एउटा कुनामा छ— सहयोग रसिद। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र खेलकुदमन्त्री सबैलाई भेटिसकेका छन्। सरकारसँग उनीहरूको माग छ— आरोहणका लागि चाहिने १० हजार अमेरिकी डलर बराबरको राजस्व मिनाहा गरिदिनुपर्ने, मन्त्रिपरिषद्बाट आर्थिक सहयोगका लागि निर्णय गरिदिनुपर्ने र प्रधानमन्त्रीले शुभकामना मन्तव्य दिनुपर्ने। सरकारबाट सहयोग पाउनेमा विश्वस्त छन् उनीहरू।

उनीहरूलाई एभरेस्ट हस्पिटलले स्वास्थ्यसम्बन्धी सहयोग गर्ने भएको छ। विभिन्न बैंक र विदेशमा रहेका नेपालीले पनि सहयोग गर्ने आश्वासन दिएका छन्। शिल्पी थिएटरले नाटकको एक सोबाट उठेको पैसा उनीहरूलाई सहयोग गर्‍यो।

२०१८ मा उनीहरूसहित १७ महिलाले सगरमाथा आरोहण गर्दैछन्। उनीहरूले अभियानको नाम दिएका छन्, ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८’। ५९२५ मिटरको रामदुङ हिमाल र ५६३० मिटर अग्लो यालुङ-री हिमालको सफल आरोहण गरिसकेका उनीहरूको अभियानको नारा छ, ‘समानताका लागि बुलन्द आवाज।’

प्रतिक्रिया

Related Post

कतारमा सुनिए उपेन्द्र

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-कवि उपेन्द्र सुब्बाले कतारको राजधानी दोहामा एकल सिर्जना वाचन गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नवोदित…

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

Posted by - January 3, 2018 0
काठमाडौं– भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने…

विवाहपछि खुसी रहन चाहानुहुन्छ ? अब यी तरिकाहरु अपनाउनुहोस्

Posted by - November 23, 2017 0
धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन् । यसै पनि मंसिर लगनको महिना हो । मंसिर सुरु भएसँगै…
%d bloggers like this: