प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति

101 0

वर्ष दिनयता प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको विवादमा छन्।

उनीसँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्।

प्रधानन्यायाधीशको खास जन्म मिति कहिले हो, र उनको उमेर कति हो भन्ने तथ्य पत्ता लगाउन हामीले गत साता प्रयास गर्‍यौं।

यसका लागि हामी सबैभन्दा पहिले पराजुलीले दश कक्षासम्म पढेर एसएलसी दिएको चितवनको शारदानगरस्थित शारदा माध्यामिक विद्यालय पुग्यौं।

विद्यालयकी प्रधानध्यापक पार्वती अधिकारीले गोपाल पराजुलीले सो विद्यालयबाट २०२६ सालमा एसएलसी दिएको तर विद्यालयको लेजरमा एसएलसी दिएको बाहेक कुनै अभिलेख नभएको बताइन्।

‘विद्यालयमा आगलागी भएपछि सबै पुराना अभिलेखहरू नष्ट भएका थिए, एउटा लेजरमा भने उहाँले २०२६ सालमा एसएलसी दिएको देखिन्छ,’ उनले भनिन्।

पराजुली एसएलसीमा पास वा फेल भएको रेकर्ड पनि विद्यालयमा प्रष्ट छैन।

‘पुरानो लेजर च्यातिएकाले नेपाली विषयमा उहाँले पाएको अंक यकिन छैन। त्यसैले फेल वा पास के भएको हो भन्न सकिएन। अरु केही अभिलेख यहाँ छैन,’ उनले भनिन्।

चितवनको शारदा माध्यामिक विद्यालयको लेजरमा रहेको पराजुली प्राप्ताङ्क। तस्बिर : सेतोपाटी।

२०२६ सालमा पराजुलीले शारदा माविबाट एसएलसी दिएको देखिन्छ। लेजर हेर्दा पास भएका विद्यार्थीको डिभिजन उल्लेख छ भने फेल भएकाको डिभिजन उल्लेख छैन।

पराजुलीको पनि डिभिजन उल्लेख छैन। त्यसको अर्थ उनी सो विद्यालयबाट दिएको एसएलसी परिक्षामा फेल भए भन्ने देखिन्छ।

उनले सो विद्यालयबाट २०२६ साल पछि फेरि एसएलसी दिएको देखिँदैन।

त्यसपछि उनले एकैचोटी २०२९ सालमा वीरगन्जको नेपाल राष्ट्रिय विद्यापिठबाट एसएलसी सरहको परीक्षा पास गरेको देखिन्छ।

त्यतिखेर नेपालमा एसएलसी बोर्डबाहेक एसएलसी सरहका परीक्षा लिने मान्यताप्राप्त अरू दुई निकाय पनि थिए। तीमध्ये वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ एउटा थियो।

पराजुलीले २०२९ सालमा यही विद्यापीठको भरतपुर केन्द्रबाट परीक्षा दिएका थिए।

चितवनपछि हामी वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ गयौं। २०३२ सालमा नयाँ शिक्षा लागू भएपछि सो विद्यापीठ खारेज भएको थाहा भयो। अहिले त्यसको ठाँउमा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय छ, जुन नेपाल सरकारको एसएलसी बोर्ड अन्तरगत सञ्चालन हुन्छ।

सो माध्यमिक विद्यालयमा अहिले पराजुलीले विद्यापीठबाट जाँच दिएको कुनै रेकर्ड छैन। २०३२ सालमा विद्यापीठ खारेज भएपछि त्यसका सम्पूर्ण कागजात त्यही बेला काठमाडौंस्थित परीक्षा नियन्त्रण कार्यलय, सानोठिमी पठाएको विद्यालयले जानकारी दियो।

प्रधानन्यायधीश पराजुलीले सोही विद्यापीठबाट एसएलसी पास गरेको मार्कसिट सरकारी निकायहरूमा पेश गर्ने गरेका छन्। तर सो विद्यापीठले जारी गरेको क्यारेक्टर सर्टिफिकेट (चारित्रिक प्रमाणपत्र) भने पराजुलीले कहिँ पनि पेश गर्ने गरेका छैनन्। क्यारेक्टर सर्टिफिकेटमा जन्म मिति उल्लेख हुने गर्छ।

हामीले सानोठिमीस्थित परिक्षा नियन्त्रण कार्यालय पुगेर नेपाल राष्ट्रिय विद्यापीठका रेकर्ड खोज्यौं।

कार्यलयको लेजरमा पराजुलीको मार्कसिट र उनको जन्म मिति पनि उल्लेख भएको भेटियो। परिक्षा नियन्त्रण कार्यालय सानोठिमीमा रहेको वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको अभिलेखमा उनको जन्म मिति २०११ साल वैशाख १३ गते भन्ने उल्लेख छ।

यो जन्म मिति पुष्टि गर्दै कार्यालयका उपनियन्त्रक तथा प्रवक्ता डिल्लीराम लुइँटेलले सेतोपाटीसँग भने, ‘उहाँले राष्ट्रिय विद्यापीठबाट २०२९ एसएलसी पास गर्नुभएको छ। सो अभिलेखमा उहाँको जन्ममिति २०११ साल वैशाख १३ गते लेखिएको छ, उहाँले माग्न आएमा हामीले यही प्रमाणपत्र दिने हो,’ उनले सेतोपाटीसँग भने।

सरकारी रेकर्डमा भेटिएको यो उनको चौथो जन्म मिति हो, जुन अहिलेसम्म बाहिर आ‍एको थिएन। यो जन्म मितिले पराजुलीलाई थप विवादित बनाउनेछ।

एसएलसीपछि क्याम्पसमा भर्ना हुँदा एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेश गर्नुपर्छ। यिनै प्रमाणपत्रका अाधारमा कलेज र पछि नागरिकता र सरकारी कार्यलयमा जन्म मिति कायम रहने हो।

तर पराजुलीको हकमा यो लागू भएको देखिन्न। फरक-फरक समय र ठाँउमा उनका फरक जन्म मिति देखिन्छन्।

त्रिभुवन विश्वविद्यालयले दिएको पराजुलीको रजिष्ट्रेसन स्लिपमा भएको उमेर र परीक्षा नियन्त्रण कार्यलयमा रहेको अभिलेखमै उनको उमेर फरक देखिन्छ। यसले उनले त्रिविमा रजिष्ट्रेसन बनाउँदा कुन प्रमाणपत्रका आधारमा जन्म मिति लेखाए भन्ने शंकाको घेरामा पर्छ।

०२९ सालमा एसएलसी पास गर्दा विद्यापीठमा उनले आफ्नो जन्ममिति २०११ साल वैशाख १३ लेखेका छन्। तर पछि त्रिभूवन विश्वविद्यालयबाट लिएको रजिष्ट्रेशनमा उनको उमेर २०१० साल वैशाख १६ छ।

यसरी शैक्षिक प्रमाणपत्रमा मात्र होइन, नागरिकतामा पनि प्रधानन्यायाधीश पराजुलीका फरक-फरक जन्म मिति र उमेर कायम छन्।

२०३० सालमा उनले पहिलो नागरिकता लिएको देखिन्छ। २०३० साल साउन २१ गते लिएको उनको सो नागरिकतामा उनी २१ वर्ष पुगेको उल्लेख छ। जसअनुसार जन्म मिति कायम गर्दा उनको जन्ममिति २००९ साल साउन २१ गते हुन्छ। पहिला पहिला नागरिकतामा जन्म मितिको साटो उमेरमात्र लेख्ने चलन थियो। नागरिकतामा उमेरमात्र भएका न्यायाधीशलाई कहिले अवकाश दिने भन्ने विषय टुंगो लगाउन न्यायपरिषद्ले नागरिकता लिएको वर्षबाट उमेर घटाएर जन्म मिति कायम गर्ने गरेको थियो।

२०३० सालमा नागरिकता लिँदा उनीसँग एसएलसीको शैक्षिक प्रमाणपत्र थियो, तर त्यसअनुसार उनको उमेर कायम भएको देखिन्नँ। उनले किन शैक्षिक प्रमाणपत्रको उमेर लेखाएनन् प्रश्न उठ्छ?

२०६७ मंसिरमा उनले नागरिकताको प्रतिलिपी बनाएको देखिन्छ। सो प्रतिलिपीमा जन्म मिति खुलाइएको छ। त्यहाँ उनको जन्म मिति फेरि त्रिवि रजिष्ट्रेसनको जस्तै २०१० वैशाख १६ गते लेखिएको छ।

उनले सकारी जागिर खाँदा न्यायालयमा आफै भरेको अभिलेख (सिट रोलमा) उनको जन्म मिति शैक्षिक प्रमाणपत्र र नागरिकतामा उल्लेख भएभन्दा फरक भेटिन्छ। उनले सिटरोलमा आफ्नो जन्म मिति २०१० साल वैशाख १३ लेखेका छन्।

यसरी शैक्षिक प्रमाणपत्र र सरकारी कार्यालयमा देखिएका रेकर्डका आधारमा पराजुलीका चार वटा जन्म मिति देखिन्छन्।

न्यायाधीशको व्यक्तिगत विवरण राख्ने न्यायपरिषदको अभिलेखमा तीन वटा उमेर भेटिएपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको पहिलो नागरिकताको जन्म मिति (२००९ साउन २१) कायम गरिदिएकी थिइन्।

परिषद्को अध्यक्षको हैसियतले कार्कीले एक वर्षअघि पराजुलीले उमेर कायम गरेकी हुन्। उनले कायम गरिदिएको जन्म मिति मानेको भए पराजुलीले गत साउन २१ गते नै अवकास पाउने थिए।

‘कुनै पनि न्यायाधीशको उमेरसम्बन्धी विषय विवादमा आउनु वा शंकाको विषय बन्नु हुदैँन। न्यायपालिकाप्रतिको जनआस्था र विश्वास कायम राख्न तथा न्यायीक स्वच्छताको लागि पनि यस्ता विषयको निरूपण तर्कपूर्ण रूपमा समयमै गरिनुपर्छ,’ कार्कीको निर्णयमा भनिएको थियो , ‘तसर्थ माननीय श्री गोपाल पराजुलीको जन्म मिति २००९ साउन २१ नै कायम रहने गरी तदनुकुल अभिलेख राख्नु होला।’

प्रधानन्यायाधीश कार्कीले त्यतिखेर पराजुलीको उमेर विवाद निरूपण गर्न न्यायपरिषदमा रहेका पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र खोजेकी थिइन्। उनको हात लाग्नुअघि नै ती प्रमाणपत्र ‘गायब’ भएका थिए। नभेटिएपछि कार्कीले ती प्रमाणपत्र मागेर पेश गर्न परिषद सचिवलाई आदेश दिएकी थिइन्।

तर पराजुलीले कहिल्यै पनि आफ्ना सबै प्रमाणपत्र अदालतमा पेश गरेनन्। त्यसपछि पराजुलीको एसएलसीको प्रमाणपत्रबारे पनि प्रश्न उठ्दै आएको हो।

पहिलो नागरिकताको उमेरलाई नै मान्नु पर्ने तर्क पूर्वप्रधानन्यायाधीश कार्कीले गर्दै आएकी थिइन्।

‘सेवा प्रवेश गरेको करिब २५ वर्षसम्म २००९ साउन २१ गतेलाई नै मान्ने अहिले आएर फरक जन्म मिति कायम गर्नु औचित्यपूर्ण देखिदैँन। त्यसरी संशोधन गर्नु कानुनसंगत पनि देखिँदैन,’ उनले पराजुलीको उमेर कायम गर्ने निर्णयमा लेखेकी थिइन्।

कार्कीले आफूले अवकाश पाउनुभन्दा केही दिनअघि पनि प्रधानन्यायाधीशको सिफारिस गर्ने निकाय संवैधानिक परिषद्लाई पराजुलीको त्यही जन्म मिति भएको उल्लेख गर्दै लेखिपठाएकी थिइन्। त्यसलाई प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको र तत्कालीन सभामुख ओनसरी घर्ती र प्रमुख प्रतीपक्षी दलका नेता केपी शर्मा ओली सदस्य रहेको संवैधानिक परिषद्ले नोटमा समेत लिएन।

कार्की गएपछि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा परिषद् अध्यक्ष भएका पराजुली आफैं बसेर आफ्नो प्रतिलिपि नागरिकतामा भएको उमेर कायम गरेका थिए।

२०७३ सालमा बनेको न्यायपरिषद् सम्बन्धी कानुनमा न्यायाधीशले दुई वटा जन्म मिति भएका प्रमाणपत्र पेश गरेमा एक वर्षको अन्तर रहेछ भने स्पष्ट जन्म मितिलाई मात्रै मान्यता दिने उल्लेख छ। त्यही आधारमा उनले आफ्नो दाबी अनुकूलको जन्ममिति कायम गरेका हुन्।

कार्कीले कायम गरिदिएको उमेरअनुसार उनले गएको साउन २१ गते अवकाश पाउँथे। आफै बसेर कायम गरेको नयाँ जन्म मिति अनुसार पराजुलीको कार्यकाल ८ महिना बढ्यो। अब उनी आउने वैशाख १६ गते अवकास पाउने छन्।-

(गिरीश गिरी / शोभा शर्माले  प्रधानन्यायाधीश पराजुलीको जन्म मिति सम्बन्धी तयार पारेका रिपोर्ट सेतोपाटीबाट लिइएको )

प्रतिक्रिया

Related Post

प्रहरी र विद्यार्थी झडप- अखिल उपाध्यक्ष र महासचिव घाइते

Posted by - January 2, 2018 0
काठमाडौँ  । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी…

मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

Posted by - November 26, 2017 0
बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा…

राजपा नेता आमरण अनसनमा

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका…

गौचन हत्या काण्डका आरोपित भारतीय नागरिक सहित ५ जना पक्राउ, मुख्य योजनाकार भने फरार

Posted by - November 14, 2017 0
असोज २३ गते हत्या भएका  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ…

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती…
%d bloggers like this: