वीपीको चेतनाभित्रको शिक्षा

93 0

किशोरदत्त बराल

 

वीपी (विश्वेश्वरप्रसाद) कोइराला नेपाली राजनीति र साहित्यमा परिचय दिइरहनुपर्ने नाम होइन । यही परिचयभित्र वी.पी लाई धेरै पढिएको छ र लेखिएको पनि छ । राजनीतिज्ञ वीपी कोइराला र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका बारेमा प्रशस्त लेखिँदा र पढिँदा पनि बहुआयामिक व्यक्तित्वका धनी वीपी कोइरालाको शिक्षाप्रतिको अवधारणालाई प्राथमिकतामा राखेर कहीँ कतै पनि चर्चा र बहसहरू भएका छैनन् र यसको आवश्यकताको महसूस पनि गरिएको छैन । सायद यसै भएर होला, समाजको हरेक क्षेत्र यतिखेर अविश्वास, घृणा, द्वेष, र भ्रष्टाचारले आक्रान्त भएको छ ।

सामाजिक अव्यवस्थाको व्यवस्थापन कडा दण्ड÷सजायको प्रयोगबाट मात्रै गर्न सकिन्छ भन्ने कमजोर मानसिकताबाट गुज्रिरहेको हाम्रो समाजलाई वीपी शिक्षाको बारेमा बुझाउन र मनन् गराउन सकिएमा वीपीको सुन्दर समाज निर्माणको परिकल्पनाले सार्थकता पाउन सक्दथ्यो कि भन्ने प्रशस्त विश्वास बोकेर यो लेख लेख्ने प्रयास गरिएको छ । यो लेखमा व्यक्त विचारहरूसँग सबै सहमत हुनु पर्छ भन्ने पनि छैन । तर, यहाँ व्यक्त विचारको बारेमा सहमत हुनेहरूबाट भने वीपी विचारलाई के कसरी समाज, विद्यालय र विश्वविद्यालयमा पु¥याउन सकिन्छ र एउटा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि वीपी शिक्षालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा महत्वपूर्ण सुझावको अपेक्षा गरिएको छ ।

 

वीपी शिक्षाभित्र जीवन्त रहेका शैक्षिक विचारमध्ये ‘मानिस ठूलो होइन , असल हुनु पर्दछ’  भन्ने विचार मानव सभ्यतालाई सही दिशामा डो¥याउने उत्कृष्ट विचारको कोटीमा पर्छ भन्ने मलाई लाग्छ । हुन त, मेरो यो कुनै सामाजिक अनुसन्धानवाट निस्किएको निष्कर्ष भने होइन । म जन्मे हुर्केको समाज, मैले पढेलेखेको विद्यालय÷विश्वविद्यालय, मेरो कार्य क्षेत्रमा मैले काम गर्दा संग्रह गरेको अनुभव आदिले मलाई यो निष्कर्षको नजिक पु¥याउन सहयोग गरे । यिनै स्रोतहरूको जगमा उभिएर निकालिएको निष्कर्षले वीपी शिक्षालाई एउटा अभियानको रूपमा अगाडि बढाउनुपर्ने आवश्यकताको बोध गरायो ।

मानिस ठूलो होइन असल बन्नु पर्दछ भन्ने वीपीको यो विचारलाई हामीले गणित र विज्ञानको सूत्रको रूपमा त घोक्यौं तर यसको मर्मभित्र पसेर सोही अनुसार शिक्षा नीति तथा कार्यक्रमहरू निर्माण गर्न भने सकेनौं । ठूलो मानिस र असल मानिसको परिभाषा र यसको मर्मलाई नेपाली मनभित्र पु¥याउन नसक्नु नै नेपालको शिक्षा प्रणालीको सबैभन्दा ठूलो कमजोरी रह्यो । हाम्रो शिक्षा व्यवस्था मानिसलाई असल होइन, ठूलो बनाउनुमा केन्द्रित रह्यो । हामीहरू सबै यसैको वरिपरि घुमिरह्यौं र यसैमा गर्व गरिरह्यौं । मानिसलाई ठूलो बनाउने शिक्षाको केन्द्रभित्र मात्रै घुमिरहँदा वीपीको असल मान्छे थाहै नपाइकन मर्यो । जहाँको शिक्षा व्यवस्थाभित्र असल मान्छे हुर्कन नपाइकनै मर्दछ, त्यस्तो समाजभित्र मित्रता, सद्भाव, सहिष्णुता, शान्ति र विवेक स्वभाविक रूपमा हराउँदो रहेछ ।

मानिसलाई असल बनाउन असल बन्ने शिक्षा दिनु पर्छ । असल शिक्षा भनेको प्रेमको शिक्षा हो, हृदयको शिक्षा हो र विवेक जागृत गराउने शिक्षा हो ( जे. कष्णमूर्ति, शिक्षा र यसको औचित्य) । अरुको भन्दा धेरै अंक ल्याउने, अरुको भन्दा ठूलो पद प्राप्त गर्ने, अरुको भन्दा धेरै पैसा कमाउने, अरुको भन्दा ठूलो घर बनाउने र समग्रमा अरुलाई कुनै पनि तरहले पछि पार्दै अगाडि बढ्ने शिक्षा हामीले दिएको ठूलो हुने शिक्षा हो । हामीले दिएको विद्यालय र विश्वविद्यालयको शिक्षा यही हो ।

यही शिक्षाको प्रभाव गर्भाधानका निम्ति वीर्य दान गरिरहेको पिता र वीर्य ग्रहण गरिरहेकी आमालाई पनि परेको छ । धेरै पैसा कमाउने, ठूलो पद प्राप्त गर्न सक्ने र अरुलाई उछिन्न सक्ने सन्तानको मनोभावना बोकेर वीर्य दान गर्ने र ग्रहण गर्ने काम भएको छ । कसैले पनि असल सन्तानको जन्मको रहर बोकेर गर्भाधान गरेका छैनन् । गर्भाशयभित्र बच्चा हुर्काइरहेकी आमाको प्रत्येक श्वास–प्रश्वास आफूले जन्माएको बच्चालाई अरु भन्दा ठूलो बनाउने चाहनासँग घोलिएको छ । जेनेटिक इन्जिनियरिङ्गमा गरिएका अनुसन्धानका प्रतिवेदनहरूले के देखाएका छन् भने बच्चा गर्भमा छँदा आमाले रोपेको बिउ नै आजका बालकको स्वभावका रूपमा विकास भएको हुन्छ । बच्चा गर्भमा रहेको बेलामा मात्रै होइन, वीर्य लिँदा र दिँदाको समयमा दम्पत्तिले जे सोच्छन्, महसूस गर्छन् वा भोग्छन् त्यसको असर जन्मिने बालकमा पर्दछ ।

स्वामी विवेकानन्द भन्नुहुन्छ– जसरी एउटा बीजभित्र  वृक्षका हाँगा, जरा, पात, फूल, फल सबै अप्रकट अवस्थामा छिपेर रहेका हुन्छन्, ठीक त्यसरी नै मानिसको सम्पूर्ण व्यक्तित्व गर्भमा रहेको शिशुमा छिपेर रहेको हुन्छ । यिनै सन्दर्भहरुसँग मेल खानेगरी शिक्षाको औचित्य भन्ने पुस्तकमा जे कृष्ण मूर्तिले एउटा निकै सान्दर्भिक प्रसंग उठाउदै भन्नु भएको छ–एउटा अनौठो कुरा के छ भने डाक्टर, इन्जिनियर हुनका लागि व्यक्तिलाई ठूलो र कठिन प्रशिक्षणबाट गुज्रिनु पर्दछ जवकि माता पिता बन्नु जस्तो अति महत्वपूर्ण कामका लागि कुनै प्रकारको शिक्षा वा प्रशिक्षण जरुरत पर्दैन । यसबाट के देखिन्छ भने एउटा असल मानिस बनाउने आधार बच्चा धर्तिमा जन्मिए पछि मात्रै होइन, गर्भाधानसँगै प्रारम्भ हँुदो रहेछ । जीवन निर्माणको यो महत्वपूर्ण पाटोका बारेमा हामीले कहिल्यै पनि सोचेनौं र वहस गरेनौं ।

अब के गर्न सकिन्छ होला ? कि हामी केही गर्नै नसक्ने गरी थला परिसकेका छौं ? के हामी असल मानिस निर्माणको जग भत्काएर सभ्य समाजको निर्माण गर्न सक्छौं ? गर्भाधानको समयदेखि अरूप्रति घृणा, प्रतिस्पर्धा र द्वेशको मनोभावना लिएर हुर्किएको मानिस नै भोलि देशको नीति निर्माणको तहमा पुग्दा त्यो व्यक्तिबाट बन्ने नीति तथा कार्यक्रममा शान्ति, सद्भाव, सहिष्णुता र हार्दिकता भेट्टाउन सकिएला ? यदि ती व्यक्तिहरूबाट सामाजिक तथा शैक्षिक नीतिहरू बनिहाले भने पनि के त्यसको प्रभावकारी कार्यान्वयन सम्भव होला ?

त्यसमा पनि वीपीको प्रजातान्त्रिक समाजवादी अर्थव्यवस्थामा आर्थिक समानताको पाटो विवेकपूर्ण वितरणमा आधारित छ ।के हाम्रो देशको वर्तमान शिक्षा प्रणाली विवेक जागृत गराएर विवेकपूर्ण वितरणमा आधारित समाजवादी समाज निर्माण गर्न उद्यत छ ?यी यस्ता प्रश्नहरू हुन् जसको उत्तर मस्तिष्कबाट होइन, हृदयबाट खोज्न जरुरी छ । तर बिडम्वना ! हाम्रो शिक्षा विवेक र हृदयको विकास होइन, मस्तिष्कको विकास गर्नमा मात्रै केन्द्रित रहेको छ ।

मस्तिष्क ठूलो हुने कुरासँग र हृदय असल हुने कुरासँग सम्बन्धित छ भन्ने शास्वत कुरालाई हामीले बुझ्न नसकेका कारण वीपीले परिकल्पना गरेको असल मानिसलाई पहिचान गरेर हामी अगाडि बढ्न सकेका छैनाौं । यसलाई कसले बुझ्ने र कसरी बुझाउने ? यो नै हाम्रो अगाडिको अर्को सबैभन्दा ठूलो चुनौती हो । यदि ठूलो मानिस र असल मानिसको विभेदलाई हामीले बुझ्न र बुझाउन सकिएको भए हाम्रो सामाजिक अवस्था यति धेरै जीर्ण र कमजोर भएर लथालिङ्ग हुने थिएन । असल मानिस निर्माण गर्ने शिक्षाले कुनै परीक्षामा कति प्रतिशत विद्यार्थी उत्तीर्ण वा अनुत्तीर्ण भए ? वा कसले कति अंक ल्याए भन्ने कुरा मात्रै खोज्दैन । परीक्षा उत्तीर्ण वा अनुत्तीर्ण भए पछिका दिनहरूमा उनीहरू कहाँ छन् ? के गरिरहेका छन् ? जीवनका बारेमा उनीहरूले के सोचिरहेका छन् ? उनीहरूको समाजप्रतिको व्यवहार, उत्तरदायित्व र दृष्टिकोण के छ ? भनेर पनि खोज्ने थियो ।

विद्यालय वा विश्वविद्यालयवाट बाहिरिएका विद्यार्थीहरूभित्र असल मानिसको चरित्रको रेखाचित्र (ग्राफ) कस्तो छ भनेर पढ्ने थियो  र सोही अनुसार समाज विकासका योजनाहरू निर्माण गर्ने थियो । तर यस्तो हुन सकिरहेको छैन । किनकि हामी ठूलो हुने प्रतिस्पर्धाको शिक्षाबाट अन्धा भएका छौं । हाम्रा बाहिरी आँखाहरू सग्ला भएपनि भित्री आँखाहरू विकृत भएका छन् । भित्री आँखाहरूको शल्यक्रिया गरेर निको पार्ने प्रविधि आधुनिक विज्ञानसँग नभएकाले समस्या जटिल भएको छ । यसरी नै अन्धो शिक्षा दिएर अन्धा मानिसहरूको विकास गरिरहने हो भने ठूला मानिसहरूको मस्तिष्क र हातवाट लिटिल ब्वाय र फ्याट म्यानहरू बनिरहनेछन् र फेरि पनि हिरोसिमा र नागासाकीहरूमा वीपीका असल मानिसहरू मरिरहनेछन् ।

अब यसबारे सोच्न, छलफल गर्न र वहस चलाउन ढिला भइसकेको छ । जे कृष्ण मूर्ति भन्नुहुन्छ–अ्रहिले हाम्रो शिक्षा व्यवस्थाभित्र कुनै विशेष प्रविधि वा व्यवसाय र अरुले अतीतमा विकास गरिदिएको सिद्धान्त घोक्नु र जान्नुबाहेक शिक्षाको अत्यन्त थोरै अर्थ रहेको छ । जहाँको शिक्षा व्यवस्थाभित्र शिक्षाको अर्थ अत्यन्त थोरै हुनेगरी शिक्षाको नीति तथा कार्यक्रमहरू निर्माण गरिन्छ र लागू गरिन्छ, त्यस्तो समाजमा प्राविधिक र औद्योगिक विकाससँगै मानव सभ्यता विनाशतर्फ अग्रसर हुँदोरहेछ ।

यसैले अब हाम्रो शिक्षा प्रणालीमा विवेकजन्य गहिरो मनोवैज्ञानिक विद्रोह आवश्यक छ । यदि अव हामीले शिक्षामा मनोवैज्ञानिक विद्रोह नगर्ने हो भने हामीले अवलम्बन गरेको शिक्षाले हामीलाई धेरै धन–सम्पत्ति कमाएर भोगविलास गर्ने सामथ्र्य त देला तर वीपीको असल मानिस दिन सक्दैन । विवेकजन्य विद्रोह भनेको मौजुदा शिक्षा व्यवस्थालाई पूर्ण रूपले उल्टो बनाउने हो । यसका लागि हामी आफ्नो विचार र भावप्रति अत्यन्त जागरुक हुन आवश्यक छ । मानिसलाई पहिला ठूलो (उच्च पद प्राप्त गरेको, धेरै पैसा कमाएको, ठूलो घर बनाएको, धेरै पढेको आदि) मानिस बनाएर असल बनाउने कि पहिला असल (प्रेम, सद्भाव, शान्ति, हार्दिकता, विवेक आदि भएको) मानिस बनाएर ठूलो मानिस बनाउने ? हामीले गम्भीर भएर विचार गर्नुपर्ने विषय यही हो । हामीले ठूलो मानिसभित्रबाट असल मानिस खोज्ने प्रयास ग¥यौं ।

हाम्रो यहीनेर गल्ति भएको रहेछ । अरुले निर्माण गरिदिएका सूचना, तथ्याड्ढ, प्रविधि र सिद्धान्तहरू मात्र पढेर र घोकेर परीक्षा उत्तीर्ण गरेका विद्वान र प्राविधिज्ञहरू  भौतिक वैभव र पद प्राप्ति पछि अत्यन्त यान्त्रिक, निरश र जटिल हुँदा रहेछन् । त्यस्ता मानिसभित्र प्रेम र विवेकको फूल फूलाएर असल बनाउन सकिँदोरहेनछ भन्ने कुरा हामीले बुझ्नै पर्छ । धेरै घोकाएर, धेरै अड्ढ ल्याउने बनाएर, धेरै पैसा कमाएर, माथिल्लो पदमा पु¥याएर बनाइएको ठूलो मानिसलाई पछि गएर असल बनाउन सकिँदो रहेनछ भन्ने कयौं जीवन्त उदाहरण  छन् ।

यसैले पनि मानिसलाई पहिला असल बनाएर ठूलो बनाउने अभ्यासमा लागिहाल्नुपर्ने आवश्यकता हामीसँग छ । हाम्रो अनुभवले हामीलाई के सिकाएको छ भने सबै असल मानिसलाई ठूलो बनाउन सकिन्छ तर सबै ठूला मानिसलाई असल बनाउन सकिँदोरहेनछ ।

हाम्रो शिक्षाले ठूलो मानिसभित्रबाट सामाजिक र भौतिक सम्पन्नता खोजेको छ तर असल मानिसबाट स्वतः सामाजिक र भौतिक सम्पन्नता प्राप्त हुन सक्दछ भन्ने कुराको चुरो अनुभव गर्न सकेको छैन । त्यसैले अल्मलिएको र बाटो बिराएको हाम्रो शिक्षा व्यवस्थाभित्र अब एकखालको मनोवैज्ञानिक क्रान्ति आवश्यक भएको हो । भनिन्छ, धेरै बोलेर थोरै सन्देश दिनुभन्दा थोरै बोलेर धेरै सन्देश दिनु बुद्धिमानी हुन्छ ।

तर, ‘मानिस ठूलो होइन असल बन्नु पर्दछ’ भन्ने वीपीको यो थोरै बोलाईभित्रको व्यापकता न नेपाली शिक्षाविद् र शिक्षा व्यवस्थाले बुझ्न सक्यो न त राजनीतिक तथा कार्यकर्ताहरूले । जेनेटिक इन्जिनियरिङले गरेको अध्ययनको प्रतिवेदन, स्वामी विवेकानन्द र  जे कृष्णमूर्तिको विचार जस्तै असल मानिसको निर्माण जटिल कानूनी दण्ड व्यवस्था र अर्काले निर्माण गरिदिएको सिद्धान्त एवं ज्ञानभित्र होइन, गर्भावस्थादेखि नै मानिसमा विकास हुने सोंच, प्रवृत्ति र ज्ञानका आधारमा मात्रै हुन्छ भन्ने वास्तविकताको गहिराइ बुझ्ने र बुझाउने जिम्मा सायद वीपी कोइरालाले हामीलाई छोडिदिनुभयो । नेपाली साहित्यमा यौन मनोविज्ञानलाई प्रवेश गराउन हिम्मत गर्ने वीपी कोइरालाले असल मानिस निर्माण संभोगको पूर्व तयार गरिने उत्कृष्ट वातावरण, त्यसप्रतिको सजगता  र त्यस पछि पनि दम्पत्तिका बीचमा पैदा हुने मनोभावना र व्यवहार आदिमा निर्भर रहन्छ भन्ने कुरा बुझ्नु भएको थिएन भनेर हामीले बुझ्यौं भने सायद उहाँप्रतिको अन्याय हुनेछ ।

उहाँले समाजका सबै विषयहरू आफैंले मात्र प्रष्ट गर्नु पर्छ भन्ने सायद ठान्नुभएन र असल मानिस निर्माणभित्र लुकेको यो रहस्य सूत्रबद्ध रूपमा हामीलाई भन्नुभयो । त्यसलाई बुझ्ने, व्याख्या गर्ने र कार्यान्वयन गरी असल मानिस निर्माण गर्ने यो महानतम् गृहकार्य हामीलाई दिएर जानुभयो । तर, यसलाई हामी कसैले पनि बुझेनौं वा बुझ्ने कोशिस नै गरेनौं ।

के अब हामी यसको गहिराइभित्र प्रवेश गरेर असल मानिस निर्माणका लागि सम्भोग कार्यमा लीन हुनुभन्दा अगाडि नै दम्पत्तिहरूलाई आवश्यक पर्ने स्वच्छ चित्त, एकाग्रता, सुमधुर सङ्गीतमय वातावरणको आवश्यकताका बारेमा छलफल र वहस सञ्चालन गरेर सोही अनुसारको यौनजन्य दम्पत्ति शिक्षा दिने मनोवैज्ञानिक क्रान्ति हाम्रो सामाजिक शिक्षा व्यवस्थाभित्र गर्न सक्छौं ?

के ठूला–ठूला कारागार, कडा दण्ड व्यवस्थाका लागि तयार पारिएका कानूनका दस्तावेजहरूमा भएको खर्च कटौती गर्दै विद्यालय र विश्वविद्यालयका चार दिवारभित्र कैद रहेको हाम्रो शिक्षालाई माया, प्रेम, सद्भाव, हार्दिकता, सहिष्णुता र कुनै पनि व्यक्तिले आफ्नो जीवन र आफू रहेको समाजलाई बुझ्न सक्ने उच्च कोटीको विचारको भारी बोकाएर दम्पत्तिहरू सुत्ने कोठा, गर्भभित्र बच्चा हुर्काइरहेकी आमाको हृदय र  चहै–चहै गर्दै घरको मझेरी र पिँडीमा नाति नातिनाहरूको कोक्रो हल्लाइरहेका हजुरबा र हजुरआमाहरूको बीचमा पु¥याउन सक्छौं ? यी यस्ता प्रश्नहरू हुन् जसको चित्त बुझ्दो उत्तरभित्र असल मानिस निर्माणको रहस्य लुकेको छ ।

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले भारतकै एक विश्वविद्यालयको दीक्षान्त समारोहका बीचमा भन्नुभएको थियो– मेरो यो जीवनको उत्तराद्र्धमा मैले के बुझँे भने भारतको भ्रष्टाचारको जग घरको कोक्रोबाट सुरु हुँदो रहेछ । यो भनाइभित्रको मर्म सायद नेपाली समाजभित्र पनि छताछुल्ल भएको छ । यो भनाइभित्रको मर्म हो हामीले बच्चालाई कोक्रोमा हल्लाइरहँदा त्यो बच्चालाई भोलि असल मानिस होइन, ठूलो मानिस बनाउने इच्छा, आकांक्षा र मनोभावना बोकेर कोक्रो हल्लाइरहेका हुन्छौं । यतिबेला बालबालिकालाई असल मानिस बनाउने मनोभावना बिरलै लिएका हुन्छौं हामीहरूले । हामीबाट प्रवाह हुने ठूलो मानिस बनाउने महत्वाकांक्षाको तरगंले बच्चाको असल मानिस बन्ने हरेक सम्भावनाहरूलाई सुरुबाटै भत्काइरहेको हुन्छ । यो गम्भीरताका बारेमा हामीलाई न कुनै जानकारी हुन्छ न त चासो नै । यसबाट पनि वीपीको असल मानिस निर्माणको यो अभियान कहाँनेर हराएको छ भनेर हामीले स्पष्टसँग बुझ्न सक्छौं ।

चीनका विश्वप्रसिद्ध दार्शनिक लाओत्सेले एकपटक आफ्ना अनुयायीहरूलाई प्रवचन दिने क्रममा भन्नुभएको थियो–मैले आजसम्म कहिल्यै पनि संसारका कुनै पनि व्यक्तिसँग हारेको छैन । यस कुरालाई उहाँका अनुयायीहरूले अनौठो मान्दै सोधे– के यो सम्भव छ ? लाओत्सेले भन्नुभयो– हो यो सम्भव छ, किनभने, मैले आजसम्म आफूलाई भन्दा अरु कसैलाई पनि जित्ने कोशिस नै गरेको छैन ।

असल मानिस निर्माणमा देखापरेको हाम्रो अर्को सबै भन्दा ठूलो समस्या यहीँनेर लुकेको छ । हाम्रो शिक्षा व्यवस्थाले कहिल्यै पनि हामीलाई आफूभन्दा राम्रो हुन सिकाएन । हाम्रो शिक्षाले हामीलाई जहिले पनि अरुभन्दा ठूलो हुन मात्रै सिकायो, हामीलाई आफूलाई होइन अरुलाई जित्न सिकायो ।

आफूसँग मात्रै प्रतिस्पर्धा गर्न सिकाएको भए र आफूलाई मात्रै आजभन्दा भोलि र भोलिभन्दा पर्सि तुलना गर्दै अगाडि बढ्न सिकाएको भए समाजमा घृणा, द्वेष र ईष्र्याको सट्टा प्रेम, विनम्रता र अनुशासन पैदा हुने थियो । हाम्रो पारिवारिक र शिक्षा व्यवस्थाले त्यस्तो गर्न सकेन । परीक्षाको अड्ढ, उच्च शैक्षिक प्रमाणपत्र र भौतिक सम्पन्नताको आधारमा एउटा व्यक्तिलाई अर्को व्यक्तिसँग तुलना गर्ने परिपाटीले हाम्रो सामाजिक सम्बन्धलाई स्खलित गराउँदै लग्यो ।

हाम्रो सामाजिक जीवनमा हामीले गर्दै आएको मानिस र मानिसले प्राप्त गर्ने सफलताको मूल्याड्ढन प्रणालीलाई सम्पूर्ण रूपमा परिवर्तन गर्न सकियो भने मात्रै हामीले असल मानिस र असल समाज निर्माण गर्न सक्छौं । मानिसको सफलता ऊभित्र विकास हुने आनन्द, सन्तुष्टि, शान्ति र प्रेमको आधारमा निर्धारण हुन्छ र त्यो जगभित्र उभिएको मानिस मात्रै सम्मानयोग्य पात्र हुन्छ भन्ने अवधारणालाई स्थापित गराउने प्रयास अब आवश्यक छ ।

विश्वप्रसिद्ध दार्शनिक खलिल जिव्रानले आफ्नो विश्वप्रसिद्ध पुस्तक द प्रोफेट (गुरु) मा आमा बाबुतर्फ सङ्केत गर्दै भन्नुभएको छ –तिम्रा छोराछोरीहरू तिम्रो माध्यम भएर जन्मिएका हुन् तिमीबाट जन्मिएका होइनन् । त्यसैले तिमी उनीहरूलाई माया दिन सक्दछौ तर विचार दिन सक्दैनौ । किनभने उनीहरूका आफ्नै विचार छन् । यसैले आमाबाबुहरू छोराछोरीहरू जस्तो हुन खोज्ने हो, छोराछोरीहरूलाई आमा बाबुजस्तो बनाउन खोज्ने होइन । जीवन  पछाडि फर्किदैन न त हिजोका कुराहरूमा अडिरहन्छ ।

तर हामीले हाम्रा विद्यार्थी र छोराछोरीहरूलाई उनीहरूको विचार अनुसार होइन, अभिभावक र शिक्षकको विचार अनुसार दौडाउन खोजेका छौं । धेरै पैसा र ठूलो पदप्रतिको हाम्रो महत्वाकांक्षाले हामीले आफ्ना छोराछोरीको रुची र क्षमतालाई नबुझिकनै हामीले हाम्रा छोराछोरीहरू जेका निम्ति जन्मिएका होइनन्, त्यो बनाउन खोजेका छौं ।

यसले गर्दा बाबुआमा र छोराछोरीको बीचमा र शिक्षक र विद्यार्थीका बीचमा एउटा ठूलो असन्तुष्टि जन्मिएको छ । शिक्षामा क्रान्ति भन्ने पुस्तकमा ओशो भन्नुहुन्छ जबसम्म कुनै पनि देशको शिक्षा व्यवस्थाले पैसा कमाउनु, मान र पद कमाउने कुरालाई मात्रै केन्द्रमा राखेर विद्यार्थीलाई अहंकार, इष्र्या र प्रतिस्पर्धाको वातावरणमा शिक्षित गर्ने शिक्षा प्रणाली अँगालिरहन्छ तबसम्म समाजमा असत्य, वेइमानी र चोरी भइनैरहन्छ । हामीले शिक्षामार्फत् भय, प्रलोभन, ईष्र्या र प्रतिस्पर्धा सिकायौं, प्रेम सिकाएनौं । जबसम्म हामीले शिक्षामार्फत् प्रेम र विनम्रता सिकाउँदैनौं र हरेक व्यक्तिको अनुपयेता र अद्वितीयतालाई सम्मान गर्दैनौं, तबसम्म समाजमा प्रतियोगिता चलिरहन्छ । प्रतिस्पर्धा भइरहन्छ । मारकाट, हिंसा र बेइमानी चलिरहन्छ ।

हाम्रो वर्तमान नेपाली समाज र यी माथिका विचारको अध्ययनबाट के देखिन्छ भने वीपीको असल मानिस निर्माणको जग हाम्रो शिक्षा व्यवस्था र यसले निर्माण गरेको हाम्रो विचार, प्रवृत्ति र सोंचका कारण भताभुङ्ग भएको छ । जगैदेखि भत्किएको सामाजिक शैक्षिक अवस्थाको सुधार सानो र एकल प्रयासले मात्रै सम्भव हुने विषय पनि होइन । यसैले वीपीको असल मानिस निर्माणको प्रक्रियालाई पूर्ण गरेर मात्रै हामीले परिकल्पना गरेको असल र समृद्ध समाज निर्माण गर्न सक्छौं । यसैले वीपी र वीपीको असल मानिस निर्माणको विचारलाई हामीले कुनै पार्टी विशेषको सम्पत्ति बनाएर हेर्न हँुदैन । यसलाई साझा सम्पत्ति बनाएर हेर्ने र त्यसलाई सम्मान गर्दै अगाडि हिँड्ने सामाजिक संस्कार र सुझबुझ देखाउनुपर्ने हुन्छ ।

परीक्षामा प्राप्त गर्ने अड्ढ, विद्यालय र विश्वविद्यालयका प्रमाणपत्र, मान, पद , पैसा र प्रतिष्ठा प्राप्तिको शिक्षाले असल मानिस निर्माण हुनसक्दो रहेनछ । अब हामीले दिने शिक्षा जीवनका निम्ति हुनुपर्छ । जीवनको शिक्षामार्फत् मात्रै विद्यार्थीले जीवन के हो ? जीवन केका निम्ति हो ? हामीले जीवनबाट के खोजिरहेका छौं ? आदि भन्ने कुरा सिकाउँछ । हाम्रो वर्तमान शिक्षा व्यवस्थाभित्र न व्यक्तिले जीवन बुझ्न सके न त व्यक्तिलाई जीवन बुझाउन नै सकियो । सिङ्गो जीवनबारे बुझ्दै नबुझिकन शिक्षा लिने र दिने गर्दा समाज अस्तव्यस्त भएको हो र असल मानिस हराएका हुन् । जीवनको शिक्षाले मात्रै व्यक्तिलाई उत्साह, आत्मविश्वास, प्रेम, शान्ति र आनन्द दिन्छ ।

जीवनको शिक्षाले मात्रै कुनै पनि व्यक्तिको जीवनको प्रमुख लक्ष्य भनेको शान्ति र आनन्द हो भन्ने कुरा सिकाइदिन्छ । मान, पद, पैसा र भौतिक सम्पन्नताले सुख दिन सक्छ तर शान्ति र आनन्द दिन सक्दैन भनेर सिकाउने शिक्षा जीवनको शिक्षा हो । जीवनका निम्ति शिक्षा दिन सकियो भने मात्रै हामीले वीपीको असल मानिस निर्माण गर्न सक्छौं । हामीले प्रत्येक वर्ष विद्यालय र विश्वविद्यालयको संख्या, शिक्षक र प्राध्यापकहरूको संख्या, मन्दिर, गुम्बा, मस्जिद र चर्चहरूको संख्या, अदालत र न्यायाधीशहरूको संख्या, जेल र कारागारहरूको संख्या, प्रकाशित हुने पुस्तहरूको संख्या बढाए पनि हामीले असल मानिस निर्माण गर्न सकेनौं ।

हाम्रो वर्तमान शिक्षा व्यवस्थाले समाजमा हत्या, आतड्ढ, बलत्कार, गुण्डागर्दी र भ्रष्टाचार बढायो  । यसैले हामी सबै मिलेर वीपीको असल मानिस निर्माणको खाका तयार पारौं, यसलाई राष्ट्रिय वहसको विषय बनाऔं, यसका लागि आवश्यक पर्ने पाठ्यक्रम निर्माण गरौं । यो अति आवश्यक भएको छ । असल मानिस र समृद्ध समाज निर्माणका लागि एकाकार बनौं ।(लेखक, नेपाल शिक्षक संघका राष्ट्रिय उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया

Related Post

घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका…

चीनको सपना र भविष्य

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-‘चण्डाल चौकडी’ (ग्याङ अफ फोर) को क्रूरतम पञ्जाबाट राष्ट्रलाई मुक्त गरेपछि सन् १९७८ मा सत्ता सम्हालेका नेता तेङ…

वधशाला एकदमै कम स्वास्नीमान्छेहरुले मात्र स्वास्नीमान्छे हुने अवसर पाएका छन् । l

Posted by - November 17, 2017 0
आश्विन १५, २०७३-नर्सिङहोमको मूलढोकामा पुग्दा झमक्क साँझ परेको थियो । पालेका थकित आँखाले उसलाई चिनेझैँ नियालेपछि ऊ अर्कोतिर छड्की ।…

विघटित संसद्ले दोष बोक्ने कि नबोक्ने ? – हरिबहादुर थापा

Posted by - November 17, 2017 0
मंसिर १, २०७४-संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो…
%d bloggers like this: