नेपाल अब जलमार्गबाट समुद्रमा जोडिने, कस्तो हो नेपाल जोडिने जलमार्ग ?

31 0

काठमाडौँ,चैत्र २५ : नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला नदीमा जलमार्ग निर्माण गरी नेपाललाई समुद्रसँग जोड्ने सम्झौता भएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

‘नेपाल र भारतका प्रधानमन्त्रीले विद्यमान व्यापार तथा पारवहनसम्बन्धी व्यवस्थाअन्तर्गत कार्गो ढुवानी गर्न स्थलीय जलमार्ग निर्माण गर्ने ऐतिहासिक निर्णय गरेका छन्, जसले नेपाललाई जलमार्गमार्फत समुद्रसँगको पहुँचमा पु-याउनेछ,’ दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

यो जलमार्गले नेपाल र भारतको मात्रै नभई समग्र क्षेत्रकै आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पु-याउने वक्तव्यमा उल्लेख छ । यो पहलकदमीले कार्गो ढुवानीलाई सस्तो तथा प्रतिस्पर्धी बनाउने पनि वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओलीले जलमार्गको विकासले नेपालको अर्थतन्त्र तथा व्यापारको वृद्धिमा अत्यन्तै ठूलो भूमिका निर्वाह गर्ने कुरा बताएको वक्तव्यमा उल्लेख छ ।

नेपाल र भारतको पारवहन सम्झौताको प्रोटोकलमा जलमार्गलाई पारवहनको माध्यमका रूपमा समावेश गर्न आवश्यक प्रक्रिया र मोडालिटी बनाउने तथा त्यसमा सहमति गर्दै टुंग्याउन दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएको पनि वक्तव्यमा उल्लेख छ ।

नेपाल र भारतबीच जलमार्ग बनाउने विषयमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालको नेपाल भ्रमणकै बेलादेखि छलफल भएको हो । त्यसबेला दुई देशका प्रधानमन्त्रीबीचको संयुक्त वक्तव्यमा यो विषय उल्लेख छ ।

कस्तो हो नेपाल जोडिने जलमार्ग ?

नेपालका कोसी, गण्डकी र कर्णाली नदीमा अन्तरदेशीय स्थलीय जलमार्ग सञ्चालनको सम्भावना छ । नेपालका ठूला नदी हुँदै गंगासम्म र गंगाबाट हल्दियासम्म जोडिने जलमार्गमा सामान ढुवानीका लागि प्रयोग हुने छ । भारतले हल्दियाबाट इलाहाबादसम्म गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ ।

नेसनल वाटरवेज–१ नाम दिइएको सो जलमार्गको वाराणसीसम्मको खण्ड सन् २०१८ को अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि वाराणसीसम्म १५ सयदेखि २ हजार टनसम्मका पानीजहाज आउन सक्नेछन् ।

त्यो भनेको १ सयदेखि १ सय ५० कन्टेनर बोकेका पानीजहाज त्यहाँसम्म आउन सक्नेछन् । हल्दिया बन्दरगाहसम्म ठूला जहाज (मदर भेसल) आउन सक्छन् भने कोलकातासम्म ४ सय कन्टेनर बोक्ने जहाज आउन सक्छन् । तर, नेपालका नदीमा कुन आकारको जहाज आउन सक्छन् भन्ने अध्ययन भने भएको छैन ।

वाराणसीसम्म सो जलमार्ग जोडिँदा नेपालका तीनवटै नदीतर्फ त्यसलाई विस्तार गर्न सकिने अध्ययनहरूले देखाएका छन् । भारतले पटनानजिक कौशलघाट र बनारसमा बन्दरगाहसमेत बनाउँदै छ, जुन नेपालको व्यापारलक्षित हुन् ।

भारतले गंगा नदीसँग जोडिएका तीन ठूला नदीहरू कोसी, गण्डक (गण्डकी) र घाँघरा (कर्णाली)मा समेत जलमार्ग बनाउने योजना यसअघि नै बनाइसकेको छ ।

व्यापार लागत घटाउन जलमार्ग

जलमार्गबाट नेपाललाई जोडिएमा त्यसले नेपालको व्यापार लागत उच्च ढंगले घटाउनेछ । आर्थिक नीतिसम्बन्धी संस्था सावतीले गरेको एक अध्ययनले सडकमार्गबाट प्रतिटन प्रतिकिलोमिटर ढुवानी खर्च ४ रुपैयाँ १० पैसा पर्छ भने रेलमार्गबाट ढुवानी गर्दा २ रुपैयाँ २६ पैसा पर्छ । यदि जलमार्गबाट ढुवानी गर्न सकियो भने प्रतिटन प्रतिकिलोमिटर १ रुपैयाँ ७० पैसामा ढुवानी हुन सक्छ ।

जलमार्गको सम्झौता सकारात्मक : निजी क्षेत्र

भारतसँग जलमार्ग निर्माणको सम्झौता हुनु सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघका पारवहन समितिका सभापति अशोककुमार टेमानीले बताए । जलमार्ग निर्माणले नेपालको व्यापार लागत ठूलो मात्रामा घट्ने उनले बताए ।

‘भारतले ३ महिनाभित्रै पटनामा बन्दरगाह सम्पन्न गर्दै छ, त्यहाँबाट सजिलै नेपालतर्फ जलमार्ग विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘त्यहाँबाट कोसी तथा गण्डकीमा जलमार्ग विस्तार गर्न सकिन्छ ।’ कोसीमा कोसी ब्यारेजसम्म र गण्डकीमा नारायणगढसम्म जलमार्ग विस्तारको सम्भावना भएको उनले बताए ।

प्रतिक्रिया

Related Post

घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका…

मोदीको सन्देश र ओलीको संकेत

Posted by - February 5, 2018 0
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरेपछि अब बन्ने वामपन्थी सरकार र भारत बीचको सम्बन्धबारे आशंकापूर्ण…

स्वास्थ्यसेवा सुधारको खाँचो l

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-नेपालका प्रमुख राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएनन् । अपवाद छाडेर नेतृत्व सम्हाल्नेहरू स्वास्थ्य क्षेत्रको सुधारप्रति उदासीन भई…
%d bloggers like this: