फाटेको जुत्ता जस्तै छ आम नेपालीको जिन्दगी’

33 0

कार्तिक १३, २०७४-‘मलाई बोल्न हैन, अभिनय गर्न मन लाग्ने हो । कोही धेरै बोल्छन् तर म सक्दिनँ । सबैको आफ्नो(आफ्नो बानी हुन्छ,’ अलि मृदुभाषी स्वभावका लाग्ने अभिनेता सौगात मल्लले ‘कम बोल्नुको कारण’ यसरी धेरै पटक दिनुपर्छ । उनलाई लिएर फिल्म बनाउन मरिहत्ते गर्ने निर्माता/निर्देशक फिल्मको प्रचारप्रसारमा पनि सौगातले केही बोलिदिऊन् भनेर आशा गर्नु स्वाभाविक हो । तर सौगात भने साह्रै कम बोल्छन् । सके त बोल्नै नपरे हुनेझैं गर्छन् । भन्छन्, ‘मसँग काम गर्ने क्षमता होला तर बोल्ने क्षमता छैन । त्यो कुरा सुधार्दा पनि हुन्थ्यो होला तर त्यसमा मलाई खासै रुचि पनि छैन । जबरजस्ती बोल्ने किन बनाउनु आफूलाई ?’

आगामी शुक्रबारदेखि उनी अभिनीत ‘फाटेको जुत्ता’ रिलिज हुँदै छ । फिल्मका निर्माता अर्जुनकुमार, जसले सौगातलाई मिडियासामु ल्याउन राम्रै कसरत गरेका थिए, छेवैमा बसेर सौगातलाई सुनिसकेपछि मन थाम्न सकेनन्, ‘हामी निर्माता वा निर्देशकचाहिँ हिरो/हिरोइनले केही बोल्दिए हुन्थ्यो भन्ने चाहन्छौं । यसरी नबोल्दिँदा कहिलेकाहीँ गाह्रो हुन्छ । फिल्मका बारेमा निर्माताले बोल्नु राम्रो पनि होइन ।’ पछिल्लो फिल्म ‘चपली हाइट २’ पछि उनले सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रवीन्द्र झालगायत कलाकारसहितको ‘फाटेको जुत्ता’ रिलिज गर्दै छन् ।

हम्मेसी फिल्म र निर्माण टिम हेरेर, तौलिएर मात्रै अनुबन्ध हुने सौगात यस फिल्म किन खेल्न राजी भए होलान् ? सौगात बोले, ‘मलाई कन्सेप्ट राम्रो लागेको थियो । अरूलाई पनि राम्रो लाग्न सक्छ होला । अहिलेको समयमा एउटा रमाइलो फिल्म बन्छ होला जस्तो लाग्यो ।’ उनले ‘फाटेको जुत्ता’ दिमाग लगाएर हेर्ने फिल्म नभएको उल्लेख गर्दै थपे, ‘जति समय दर्शकले हेर्छन्, रमाइलो गर्छन् जस्तो लाग्छ । पूरा फिल्म त मैले पनि हेर्न पाएको छैन, तर बच्चादेखि सबै उमेरका दर्शकले मनोरञ्जन लिन्छन् होला ।’

फिल्मका एक संगीतकार समेत रहेका अर्जुनकुमारले थपथाप गरे, ‘दर्शक हँसाउनकै लागि पात्रहरूले मुख बिगार्ने वा अनावश्यक ब्याकग्राउन्ड म्युजिक राख्ने गरिएको छैन । अवस्थाजन्य हाँसो पैदा गर्छ फिल्मले ।’

अर्जुनकुमार चारपाँच वर्षअघि आफ्नै निर्माणको ‘चपली हाइट’ को प्रमोसनल टुरमा पोखरा गएर फर्किने क्रममा नेपाल बन्दमा परे । सडकमा दुईचार जना मान्छे टायर बालेर बसेकै भरमा हजारौं सवारी ठप्प भएको देखेर बिरक्तिएर भनेछन्, ‘सामान्य मानव अधिकार पनि छैन हामी नेपालीको त । फाटेकै जुत्ता जस्तो भयो जिन्दगी पनि ।’ त्यसपछि उनलाई आफैंले बोलेको ‘फाटेको जुत्ता’ शब्दावली किनकिन मन परेछ, त्यही शीर्षकमा फिल्म बनाउने प्रण गरे । तर स्क्रिप्ट थिएन । ‘स्क्रिप्ट खोज्नै चार वर्ष लाग्यो,’ अर्जुनकुमारले सुनाए, ‘जस्तो पायो त्यस्तै स्क्रिप्टमा बनाएको भए फिल्म उहिल्यै बनिसक्थ्यो होला ।’

अर्जुन कुमारले भेटे, ‘जिन्दगी रक्स’ का डेब्यु डाइरेक्टर निकेश खडकालाई । निकेश एउटा स्क्रिप्टमा नीरज महर्जनसँग काम गरिरहेका थिए । कन्सेप्ट अर्जुनकुमारलाई मन पर्‍यो । ‘फाटेको जुत्ता’ का लागि स्क्रिप्टसँगै निकेश पनि निर्देशक चुनिए । ‘फाटेको जुत्ता नामसँग हाम्रो स्टोरीको क्यारेक्टर म्याच पनि भयो र अर्जुन दाइ यसैमा फिल्म बनाउन तयार हुनुभयो,’ निकेशले भने, ‘सौगातले निर्वाह गर्ने पात्रको जिन्दगी पनि फाटेको जुत्ता जस्तै छ, कामै नलाग्ने । जिन्दगीमा एउटा सपना त छ तर त्यसलाई पूरा गर्न खोज्दा कहिले पनि सफल नहुने खालको छ ।’

केही अघि मात्रै सौगातले ‘संरक्षण’ मा पनि मधेसी पात्रको भूमिका निर्वाह गरेका थिए । यसमा पनि मधेसी पात्रकै लागि अनुबन्ध भए । नवलपरासीमा जन्मेहुर्के पनि सौगातलाई गर्मी फाप्दैन । ‘‘संरक्षण’ गर्दा नै मैले गर्मीको हावा खाइसकेको थिएँ । त्यसपछि गर्मीको समयमा तराईमा सुटिङ हुने फिल्म अब खेल्दिनँ भन्ने सोचेर फर्केको थिएँ तर कामले नै डोर्‍याएपछि गर्दिनँ भन्ने कुरा पनि आएन,’ सौगातले भने, ‘अनि जेठको वीरगन्जको तातो हावा खान जान राजी भएँ ।’ यति बेला उनी त्यही तातो हावामा दिएको परीक्षाको रिजल्ट पर्खिरहेका छन् ।

प्रतिक्रिया

Related Post

सकियो ‘भोर’ को छायांकन

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-निर्देशक यादवकुमार भट्टराईको नेपाली फिल्म ‘भोर’ को छायांकन सम्पन्न भएको छ । मधेसको प्रमुख सामाजिक समस्या दाइजोमा आधारित…

नचाउँदै चेपाङ गायक

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-राक्सिलोहाङ वेराती तुङचु गदरी, निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी… चेपाङ गीतका उपर्युक्त पंक्तिले भन्छन्— सालको पातमा बेरेर…

विपिनको लुक्स दयाहाङको डान्स

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए…

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…
%d bloggers like this: