एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ: खगेन्द्र संग्रौला (अन्तर्वार्ता)

22 0

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए। ‘एउटै संस्था एकैचोटी संग्रौलाजीले प्रयोग गरेका शब्दहरुको उपमा लिन मिल्ने अवस्थामा हुँदैन, एमाले पार्टी त्यस्तो हैन, हुनसक्दैन’, ओलीको जवाफ थियो । सोही अन्तर्वार्ताको प्रसंग स्मरण गर्दै श्रीराम पौडेलले संग्रौलासँग वाम गठबन्धन निर्माण पछिको सन्दर्भमा कुराकानी गरेका छन्।

नेकपा एमालेको अगुवाइमा बनेको वाम गठबन्धन बारे तपाईको टिप्पणी के छ? 

अहिलेको यो माओवादी केन्द्र र एमालेको गठबन्धन अथवा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको गठबन्धन रहस्यमय छ । जुन तथ्य र सूचनाको आधारमा र इतिहासका कार्यकारण सम्बन्धको आधारमा व्याख्या गर्नै सकिदैन । यो रहस्यमाथिको टिप्पणी रहस्यमय ढंगले गर्नुपर्छ, जुन बुझिदैन । यी दुई पार्टीहरु नामले कम्युनिष्ट भनिएपनि तीनका पृष्ठभूमी, प्रवृति, चरित्र, दिशा र लक्ष्यको हिसाबले विपरित दिशाका विपरित प्रवृतिका दलहरु हुन् । त्यस्ता दलहरुकाबीचमा रहस्यमय ढंगले, दुनियाँले अत्तोपत्तो नपाउने गरी नाटकीय ढंगले हठात कसरी गठबन्धन भयो होला ? यो गठबन्धनको सैद्धान्तिक आधार केही पनि छैन । यो नितान्त असैद्धान्तिक गठबन्धन हो भन्ने मलाई लाग्छ ।

यद्यपी पछिल्लो चरणमा त्यसलाई सिद्धान्तको आवरण ओढाउनका लागि अनेक कुराहरु भनिएका छन् । रहस्यकै कुराहरु गर्दा, केपी शर्मा ओली र पुष्पकमल दाहालका निजी आकांक्षाहरु यससँग प्रत्यक्ष रुपमा गाँसिएका छन् । यो गठबन्धनको मूलभूत कारकतत्व पनि त्यही हो ।

केही व्यक्ति तथा पात्रहरुका व्यक्तिगत आकांक्षा र स्वार्थहरु यो गठबन्धनको प्रस्थान बिन्दुमा रहेका छन् । यद्यपी पछिल्लो चरणमा त्यसलाई सिद्धान्तको आवरण ओढाउनका लागि अनेक कुराहरु भनिएका छन् । रहस्यकै कुराहरु गर्दा, केपी शर्मा ओली र पुष्पकमल दाहालका निजी आकांक्षाहरु यससँग प्रत्यक्ष रुपमा गाँसिएका छन् । यो गठबन्धनको मूलभूत कारकतत्व पनि त्यही हो ।

केपी ओलीलाई लागेको हुनसक्छ की माओवादी केन्द्र कांग्रेसको गठबन्धनमा रहुन्जेलसम्म आफ्नो प्रधानमन्त्री बन्ने पालो त नआउने भयो। पुष्पकमललाई के लागेको हुनसक्छ भने युद्धकालिन मुद्दाहरु ल्याएर दण्डित गर्ने तत्वहरु त छँदै थिए । निर्वाचनपछि आफ्नो अवस्था पहिलेको भन्दा खराब हुनसक्छ भन्ने कुरामा प्रचण्डको मनमा त्यसको ठूलो भय पसेको हुनसक्छ । त्यसपछि दुवै जनाको स्वार्थ प्रधानमन्त्री र अध्यक्ष आलोपालो बन्ने । सम्भावित कार्यकारी राष्ट्रपति आलोपालो बन्ने स्वार्थमा गठबन्धन बनेको हुनसक्छ ।

अर्को रहस्य के छ भने सर्वथा विपरित प्रवृति भएका पार्टीहरुको चुनावी गठबन्धन एकदमै सहज ढंगले अघि बढेको छ । क्षेत्र विभाजन, पात्र विभाजन, चुनावी अभियानमा संयुक्त रुपमा नाटकीय ढंगमा प्रेमपुर्वक जाने कुरा, त्यो एकदमै सुगमरुपले अघि बढरिहेको हुनाले स्वार्थजन्य यो गठबन्धनले केही काम पो गर्ला जस्तो छ ।

असोजको तेस्रो साता गठबन्धनको घोषणा हुँदा सबै छक्क परेका थिए । गठबन्धनको आयुलाइ लिएर अनेक अड्कलबाजी चलेका छन् । यद्यपी यो सहज ढंगले अघि बढेको छ । मूलः कुरा के हो?

यसबाट म पनि निकै चकित भएको छु । यसमा तत्व दुई वटा कुरा हुनसक्छ । पार्टीभित्र विभिन्न गुट र ती गुटहरुका आ–आफ्नै स्वार्थ हुँदाहुँदै पनि एक भएका छन् । एक त के हो भने केपी र प्रचण्डको दुवै पार्टीभित्र एकदमै कठोर पकड र प्रभुत्व छ । केपी शर्मा ओलीको अगाडी यदाकदा केही बौद्धिकहरुले टिप्पणी गरेपनि उनको चरित्र, चिन्तन, स्वार्थ र दृष्टिकोणमा कसैले पनि आपत्ति जनाएको देखिदैन । पुष्पकमलको हकमा पनि कुरा त्यही हो । अहिले जुन नारा दिइएको छ की नेपालले समृद्धि हासिल गर्न नसकेको, नेपालको राष्ट्रियता बलियो नभएको, नेपालको अर्थतन्त्र कमजोर जगमा रहेको र विदेशीले हेपी नै रहेको कुराको पछाडी राजनीतिक अस्थिरता छ । त्यो राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न बहुमतको सरकार चाहिन्छ भन्ने नाराले पार्टीभित्र र बाहिरको जनमतलाई आकर्षित गरेको हुनुपर्छ ।

निर्वाचनपछि आफ्नो अवस्था पहिलेको भन्दा खराब हुनसक्छ भन्ने कुरामा प्रचण्डको मनमा त्यसको ठूलो भय पसेको हुनसक्छ । त्यसपछि दुवै जनाको स्वार्थ प्रधानमन्त्री र अध्यक्ष आलोपालो बन्ने । सम्भावित कार्यकारी राष्ट्रपति आलोपालो बन्ने स्वार्थमा गठबन्धन बनेको हुनसक्छ ।

यो वाम रहस्यको आधार दुई वटा मात्रै खुट्याउनु भयो नी ?

कुरा के हो भने, षडयन्त्रको सिद्धान्तमा त म विश्वास गर्दिन । तर कहीलेकाँही यस्तो बाध्यात्मक परिस्थिति आउँछ की त्यो षड्यन्त्रको सिद्धान्तले पनि काम गर्छ की जस्तो लाग्छ । नेपथ्यबाट नेपालप्रति दिल्लीको हेपाइ र चीनको नेपालप्रतिको सहानुभूति जे भनिन्छ, हेपाइ त सत्य हो । तर, चीनको सहानुभूति चरित्र र दिल्लीको भन्दा कति फरक हो त्यो म जान्दिन। वाम गठबन्धन र एकतामा चीनको सुझाव, आर्शिवाद र परामर्श पनि छ भनिन्छ ।

दुवै पार्टीहरु सैद्धान्तिक रुपमा फरक छन् भन्नुभयो तर पनि एकता प्रक्रियामा छन् नी ?

दुवैमा सिद्धान्त त छँदै छैन । किनभने माओवादीले १० वर्षे जनयुद्धमा त्यतिका मानिसहरुमा आकांक्षा जगाएर हजारौं मानिसहरुलाई ज्यानको आहुती दिन लगाएर मुलुकजस्तो बनाउँछ भनिएको थियो, त्यो कुरा त परित्याग गरिसक्यो ।

एमाले त्यसैपनि संसदीय कार्यशैली र व्यवस्थामा अभ्यस्त भइसकेको पार्टी हो । एमाले त कांग्रेसभन्दा पनि बलियो तरिकाले कांग्रेसको चरित्र धारण गरेको पार्टी हो । त्यस्तो पार्टीसँग त्यती ठूला एजेण्डा उठाएको पार्टीले आफ्नो आव्हानमा हजारौं मानिसहरु मराएको एक नेताले ती सबै पदचापहरु, जसले प्रचण्डलाई प्रचण्ड बनायो ती कुराहरु बिर्सिएर जानु भनेको वामपन्थको इतिहासमा भयानक विचलन हो ।

एमालेमा कुनै विचलन भएको छैन । उसले त माओवादीलाई आफ्नो आवरणभित्र घिर्सान सफल भएको छ । तर, माओवादीको हकमा निकै गम्भिर कुरा छ ।

एमालेमा कुनै विचलन भएको छैन । उसले त माओवादीलाई आफ्नो आवरणभित्र घिर्सान सफल भएको छ । तर, माओवादीको हकमा निकै गम्भिर कुरा छ ।

एमाले त्यसरी खोल ओडाउँदैमा सुरक्षित रहन्छ र ? माओवादीको सशस्त्र संघर्षले निम्त्याएका घाउहरुमा एमालेको नैतिक जिम्मेवारी छैन र ?

अहिले वाम गठबन्धन जुन सहज गतिमा छ । त्यो एउटा आवरण हुनसक्छ। दुई वटा मिल्दा खेरी बहुमतले पाँच वर्षमा स्थायी सरकार ल्याएर आफ्नो योजना कार्यान्वयन गर्ने आग्रहका साथ अघि बढ्ने कुरा भइरहेको छ । त्यो माओवादीले अंगाल्यो तर एमालेले त्यो मानेन । खटपट त्यहीबाट सुरु भयो जस्तो मलाइ लाग्छ ।

गत वर्ष आधा बजेट मात्र पारित गरेपछि एमालेलाई छोडेर प्रचण्डजी कांग्रेससँग मिलेर प्रधानमन्त्री हुनुभयो । गत जेठमा प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दा नैतिकताको यति राम्रो पाठ दिनुभयो की,सबै तारिफ गरे । अहिले आफ्ना मन्त्रीहरुलाई विना विभागिय बनाएर सत्तारुढ भएर बसिरहनुभएको छ । यी कुराले आदर्श, नैतिकताका कुराहरु स्वार्थका लागि निरन्तर छन् भन्ने कुरालाई पुष्टि गर्न सकिन्छ । तर, साँच्चै प्रचण्ड र ओलीबीच के कुराले मिलन गरायो ?

पुष्पकमल दाहाल र केपीशर्मा ओलीबीच त्यसबेला आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । त्यो भद्र सहमति केपी ओली जी ले तोडेपछि प्रचण्डजीलाई ठेस लाग्यो । त्यसपछि प्रचण्डजीले केपी ओलीलाई रातारात छोडेर शेरबहादुरसँग जानुभयो । कांग्रेससँग जोडिएपछि त्यो बीचको समयमा ओली र दाहालले एकअर्कालाई जतिसुकै निन्दा र वद्ख्वाँइ गरेका छन्, शब्दकोशमा भएका शब्दहरु सकिएर यिनीहरुलाइ शब्दको अभावले बढो आपत परेको अवस्था थियो । त्यो हिजोको कुरा हो । तर यिनीहरुमा निन्दाजनक ध्वनी त अझै जिवित होला नि ।

यी सबै हुँदाहुँदै पनि अहिले गरिएको वाम गठबन्धन यस्तो नखरा हो । यो वित्पातको नखरा धेरै दिन चल्लाजस्तो त मलाई लाग्दैन । तर यो नाटक अहिलेसम्म विचित्रसँग चलेको छ । यो नाटक इतिहासका कार्यकारण सम्बन्धका आधारमा, सूचना र तथ्यका आधारमा, जीवनका प्रवृतिहरुको क्रमागत विकास परिवर्तनको आधारमा व्याख्या गर्न सकिदैन । यो एकदमै रहस्यमय छ ।

आगामी निर्वाचनपछि वाम गठबन्धनको बाटो कता मोडिन्छ ? केही आँकलन गर्न सकिन्छ ?

चुनावपछिको पूर्वानुमान के हो भने अहिलेसम्मको गठबन्धन तथा कार्यगत एकताको प्रवृति अघि बढीरहेको छ । यो सुगमरुपमा अघि बढीरहेको हुनाले कार्यकर्ताहरुमा पनि एक किसिमको उत्साह देखिएको, उनीहरुले हिजोको तिक्तता विर्सन खोजेको जस्तो छ । त्यसकारण यो कम्युनिष्ट भनिएका दुई जत्थाहरुको गठबन्धनको बहुमत आउने सम्भावना छ ।

नेपाली कांग्रेसले गठबन्धनको चेष्टा गर्‍यो। तर, संवादको कलामा न्यूनता र पदप्रतिको बढी आशक्तीका कारणले उसले लोकतान्त्रिक गठबन्धन गर्न सकेन । त्यसकारण कांग्रेसको अवस्था दोस्रो संविधानसभामा माओवादीको अवस्था भएजस्तो नहोला भन्न सकिन्न ।

वाम गठबन्धनको सरकारले पाँच वर्षको आयु पायो भने दुईवटा कुरा हुनसक्छ । पहिलो उसले विज्ञापन गरेजस्तै स्थिर सरकार हुन्छ र केही उनका विकास र समृद्धिका आकांक्षालाई पुरा गर्ने गरी प्रचार गरिएको छ त्यसमा असहमत हुने कारण छैन । यदि संसदीय व्यवस्थामा अभ्यस्त भएका, भ्रष्ट्राचारको स्वाद चाखेका, पार्टीभित्र माफियाहरु व्याप्त भएका, पार्टी ठेकेदार तथा विचौलीयाको कब्जामा रहेको दुईवटा वाम पार्टीहरु पाँच वर्षका लागि एकै ठाउँमा आयो भने झनै अस्थिर हुने खतरा झन धेरै छ । त्यस समयमा कांग्रेस बाहिर हुन्छ र दुई पार्टीको एकाधिकार हुन्छ। त्यो एकाधिकार भएको बेला शक्तिलाई दुरुपयोग गरेर भ्रष्ट्राचारलाई सुसंगठित बनाउने खतरा पनि त्यतिकै रहन्छ ।

माओवादीले १० वर्षे जनयुद्धमा त्यतिका मानिसहरुमा आकांक्षा जगाएर हजारौं मानिसहरुलाई ज्यानको आहुती दिन लगाएर मुलुकजस्तो बनाउँछ भनिएको थियो, त्यो कुरा त परित्याग गरिसक्यो ।

यदि वाम गठबन्धनको बहुमत आयो तर एकीकरण प्रक्रियामा जानका लागि सैद्धान्तिक मोड दिनुपर्ने अवस्था आउँदाखरी वामगठबन्धसँग जोडिएका बाबुराम बाहिरीनु पर्यो । अहिले कांग्रेससँग तालमेल भएको छ। निर्वाचनपछि आउने नतिजापछि दुइ वाम पार्टीको एकीकरण कार्यसूची कत्तिको सहज छ ?

मलाई सहज होला जस्तो लाग्दैन । किनभने एकीकरणमा जाँदा केही सैद्धान्तिक आधार त तय होलान् । इतिहासका कुरालाई ढाकछोप गर्नकै लागि पनि केही आधार त चाहिन्छ । त्यो सैद्धान्तिक आधारको कुरा गर्दा, एमालेले ‘माओ’ विचारधारा त्यागेको धेरै भइसकेको छ । लेनिनलाई बेचीखाने लोगोको रुपमा एमालेले आफूसँग टाँसेको छ । नत्र एमाले त एक व्यवसायिक घरनाजस्तो लाग्छ । माओवादीको अहिलेको अवस्था जेसुकै भएपनि हिजोको दिनमा जनयुद्धको नेतृत्व गर्ने, जनयुद्धको आँधीबेहरी उठाउने र परिवर्तनका ठूला–ठूला मुद्दा बोकेर धुलो उडाउँदै आउने पार्टी हो । एकीकरणमा जाँदा जनयुद्धको विवेचनाको प्रश्न उठ्ला । नेकपा एमालेले परित्याग गरेको माओ विचारधारासँगै लेनिनका कुरा पनि उठ्लान ।

यदि सबै कुराहरुलाई अहिलेजस्तै ढाकछोप गरेर सिद्धान्तका कुराहरु उठाइएन भनेपनि पार्टीभित्र बरियताको कुरा उठ्छ । एमालेमा प्रधानमन्त्री बन्न चाहनेहरु लस्करै छन । एमालेमा तीनजना जो प्रधानमन्त्री बनसिके तिनीहरुको पनि चाहना होला । नजिकै वामदेव छन्, इश्वर पोखरेल, अरु अरु पनि छन् । पार्टीमा वरियताको विषय गम्भिर हुनेछ । अब केपी पछि दुई नम्बरमा त पुष्पकमल नै होलान् । किनभने पुरा इतिहासै छोडेर गएका छन् उनी । त्यो कुरा माधव नेपाल र झलनाथ खनालको लागि सह्य होला र ?

त्यस्तै माओवादीमा पनि नेताहरुको भिड छ । इतिहासमा केही काम गरेका, योगदान गरेका भएपनि अहिले केही गर्न नसक्ने वेकामे पत्रुहरु छन् । तिनीहरुलाई पनि स्थान, पद र सत्ताको नजिक हुने साधन चाहिएला । विवाद त्यहाँबाट सुरु हुन्छ । अहिले जसरी चुनावी गठबन्धन सुगम रुपमा गएको छ, पार्टी एकीकरण त्यति सुगम हुने छैन।

अर्को कुरा वाम गठबन्धनलाई एकीकरण हुन नदिने तत्वहरु धेरैतीर होलान् नी । त्यस्ता तत्वहरु दक्षिणतर्फ होलान, पश्चिमतर्फ होलान्, यही पनि  सम्भ्रान्त कुलिन नभएका होइनन् । त्यती सजिलो छैन ।

तपाइँले भनेजस्तै चीनको केही सहानुभूति भएपनि दक्षिणको छिमेकीको त टाउकै दुख्ने समय होला नि?

टाउको अहिले नै दुखिसकेको हुनपर्छ । तर वामहरुले नाटक के गरेका छन् भने हिजो सार्वजनिक गरेको घोषणापत्रमा दक्षिणतर्फको तिक्तता र चीनप्रतिको प्रेमप्रणय छ । त्यसलाई सामसुम गर्नेगरी छिमेकीहरुसँगको सम्बन्धलाई सुमधुर बनाएर लगिनेछ भन्ने सुत्र राखिएको छ । त्यो विषयमा ठुलो शक्तिहरुमध्ये यो वा त्यो शक्तिको पक्षमा गएर अर्को शक्तिको विपक्षीमा उभिदा आफूलाई हानी हुन्छ भन्ने विषयमा वाम गठबन्धन सजग देखिन्छ ।

छिमेकीसँगको सम्बन्धलाई त यसरी मिलाउलान तर पार्टीभित्रको किचलो मिलाउन त बाह्य आर्शिवाद, कृपा र परामर्शले मिलाउन सक्दैनन् । किनभने द्वन्द्वहरु आन्तरिक हुन्छन् । द्वन्द्वहरु मिलाउने र नमिलाउने भन्ने कुराहरु पनि आन्तरिक नै हुन्छन् । यो दुई वटा पार्टीहरुको मिलनमा बाह्यशक्तिको रुचि हुँदाहुँदै पनि निर्णायक भूमिका नरहन सक्छ ।

वाम गठबन्धनको औपचारिक रुपमा सार्वजनिक नभएको तर सबैले अनौपचारिक रुपमा प्राप्त गरेको घोषणपत्रको ड्राफ्ट र हिजो मंगलबार औपचारिक रुपमा सार्वजनिक गरिएको घोषणापत्रलाई तुलना गर्ने हो भने धेरै कुराहरु छुटेका छन् । पहिलेकोमा मधेसकेन्द्रीत दलहरुका विषयमा पहिले बोलीएको थियो, अहिले छुटाइएको छ । घोषणापत्र केही सालिन र सजग ढंगले आयो । यो सजगता के हो ?

वाम गठबन्धन केही संयमित भएको जस्तो देखिन्छ । तराई मधेसका पार्टीहरुप्रतिको दृष्टिकोणको विवेचना गर्दा अगाडी उपेन्द्र यादवप्रति सहानुभूतिजस्तो देखिन्छ । तर राजपालाई दलाल पूँजीपतिहरुको समूहको रुपमा चित्रण गरिएको छ । अब मेधसी दलहरुको विषयमा उल्लेख नै गरिएको छैन भने त्यो उल्लेख नगराउनमा कस्को हात होला ? पक्कै पनि दक्षिणकै हात होला । त्यसले गर्दा कठोर व्यवहारमा प्रवेश नगरुन्जेसम्म उत्तेजनात्मक शब्दहरु प्रयोग गर्न सकिन्छ । कठोर व्यवहारमा प्रवेश गरिसकेपछि उत्तेजनात्मक शब्दावलीले काम गर्दैन । संयमित त हुनैपर्छ। आफ्नो हैसियत अनुसारको निश्चित भाषा बोल्न त सबैले दायित्व निर्वाह गर्नैपर्छ । सायद गठबन्धनले पनि त्यही दायित्व पुरा गरेको हुनुपर्छ।

प्रतिक्रिया

Related Post

मलाई कति बदनाम गर्न सकेको हो ?

Posted by - November 17, 2017 0
प्रदेशसभा निर्वाचनमा मनाङ ख बाट स्वतन्त्र उम्मेदवार भएपछि चर्चा गर्माएको छ–  दीपक मनाङ्गे अर्थात राजीव गुरुङको । झन्डै २ हजार ५ सय…

अस्पतालसंगै रोग पनि भित्रिने भन्दै नागढुङ्गावासीको चिन्ता, अस्पताललाई सर्त

Posted by - October 30, 2017 0
पोखरा । फेवासिटी हस्पिटल नागढुङ्गामा सञ्चालन भएको ८ वर्ष पुग्यो । र फेरी अहिले चरक हस्पिटल पनि नागढुङ्गामै आउँदै छ…

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान, एक घाइते

Posted by - October 30, 2017 0
६ असोज, काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर…

वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउँछु –मेयरका प्रत्यासी खाँण

Posted by - October 30, 2017 0
स्याङजा । स्याङ्जाको वालिङ नगरपालिकाको मेयर पदका पत्यासी नेपाली काँग्रेसका नेता दिलिपप्रताप खाँणले वालिङ नगरपालिकालाई १५ वर्षभित्र स्मार्ट सिटी बनाउने…
Donald Trump

डीभी चिठ्ठा प्रणाली नै रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted by - November 2, 2017 0
काठमाडौं, कात्तिक १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब…
%d bloggers like this: