फेरिएको स्वरुप एसीसी यू–१९ एसिया कप

24 0

कार्तिक ३०, २०७४-एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । इतिहासमै पहिलोपल्ट भारतलाई पराजित गरेपछि नेपाल यू–१९ एसिया कपको सेमिफाइनल पुगेको हो । समूह चरणमा टेस्ट खेल्ने राष्ट्र भारत र बंगलादेशलाई कडा टक्कर दिएको नेपालले मलेसियालाई सहजै हराएको थियो । नेपालका लागि अफगानिस्तान चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छ ।

 जुलाई दोस्रो साता नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीले आईसीसी यू–१९ विश्वकप छनोट खेल्यो । चार राष्ट्रसम्मिलित लिगको दोस्रो स्थानमा रहेसँगै नेपालको विश्वकपयात्रा सकिएको थियो । नेपालले प्रतियोगितामा ६ मध्ये ४ खेल जिते पनि प्रदर्शन भने बिर्सनलायक थियो । राउन्ड रोबिन लिगमा अफगानविरुद्ध खेलेका दुवै खेलमा नेपालले खराब प्रदर्शन गर्‍यो । पहिलो चरणमा प्रतियोगिताकै सबैभन्दा कम योगफल खडा गर्दै ४९ रनमा अलआउट भएको नेपालले दोस्रो खेलमा पनि सय रनको आँकडा पार गर्न सकेन । अफगानबाहेकको जितेका खेलमा पनि नेपालको ब्याटिङ सन्तोषजनक रहेन । सुरुआती जोडी हरेक खेलमा चल्न नसक्दा मध्यक्रमले पनि ब्याटिङ सम्हाल्न सकेको थिएन ।

अफगानिस्तानसँग नराम्रो हार बेहोरेको नेपालले त्यसपछि एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको एसीसी इस्टर्न रिजन खेल्यो । त्यसको तयारीका लागि नेपाली टोलीले भारतका ब्याटिङ कन्सल्टयान्ट मोन्टी देशाईको साथ पायो । १० दिनका लागि नेपाल आएका मोन्टीले नेपाली ब्याट्सम्यानलाई ब्याटिङभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्ने सिकाए । त्यसको फलस्वरुप इस्टर्न रिजन प्रतियोगितामा नेपालले पछिल्लोपल्ट भन्दा केही सुधार गर्‍यो । ब्याटिङमा राम्रो योगफल खडा गरेको नेपाली टोलीको समयसँगै बलिङमा पनि निखार आएको देखिन्थ्यो ।

इस्टर्न रिजनको उपाधि जितेपछि नेपाली टोली एसिया कपलाई छनोट भयो । निरन्तर प्रशिक्षणमा रहेको टोलीको एसिया कपमा आउनुअघि बंगलादेशी राष्ट्रिय यू–१९ टोलीसँग मैत्रीपूर्ण खेल तय भयो । कन्सल्टयान्ट मोन्टी ढाका जानुभन्दा केही दिनअघि टोलीसँग मिसिए । बंगलादेशमा नेपालले सुरुआती दुई खेलमा पराजय भोगे पनि अन्तिम खेलमा भने जित हासिल गर्‍यो । नेपालको ब्याटिङमा निरन्तर सुधार त आएकै थियो, उक्त जितले टोलीको मनोबल उच्च बनायो ।

एसिया कपमा नेपालले पहिलो खेल खेल्नु थियो उही बंगलादेशसँगै । उक्त खेलमा नेपाली टोली जित दर्ता गर्न थोरैले चुक्यो । खेलमा शीर्ष ब्याट्सम्यान चुके पनि नेपालको मध्यक्रमले इनिङ्स सम्हालेर प्रतिस्पर्धात्मक योगफलसम्म नेपाललाई डोर्‍याएको थियो । अन्तिम ओभरसम्म तानिएको खेलमा नेपाल अभागी साबित भयो । दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेपछि नेपालको सेमिफाइनल पुग्ने ढोका खुल्यो । नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उदाहरणीय प्रदर्शन गर्दै नेपालको जित सम्भव पारेका थिए ।

मलेसियाविरुद्ध स्पिनरहरू चम्केपछि पाएको ४६ रनको लक्ष्य टोलीले छैटौं ओभरमा हासिल गर्‍यो । यस खेलमा टोलीले छुट्टै योजना लिएर ब्याटिङ गरेको थियो, जुन सफल भयो । भारतविरुद्ध सुरुमा विकेट बचाउने र अन्तिमको ओभरमा आक्रामक ब्याटिङ गर्ने योजना बुनेको नेपाल आयोजक मलेसियाविरुद्ध पहिलो ओभरमै आक्रामक ब्याटिङ गर्न उत्रिएको थियो । दुवै खेलमा नेपालको योजना सोचेझैं कार्यान्वयन भयो ।

टोलीमा ब्याटिङ त सुध्रेकै छ, सँगसँगै टोलीको बेन्च स्ट्रेन्थ पनि राम्रो भएको छ । पहिलो खेलमा विकेटकिपर प्रकाश केसीलाई खेलाएको नेपालले दोस्रो खेलमा भारतविरुद्ध उनको स्थानमा पवन सर्राफ उतार्‍यो । भारतविरुद्ध बलिङलाई अझै बलियो पार्ने हिसाबले गरिएको निर्णय सफल पनि भयो । तेस्रो खेलमा मलेसियाविरुद्ध पवनलाई विश्राम दिएर टोलीले अर्का ब्याट्सम्यान प्रनित थापामगरलाई खेलायो । प्रनितको भूमिका उक्त खेलमा आवश्यक नपरे पनि यसले टोलीमा बेन्च स्ट्रेन्थ राम्रो रहेको बुझ्न सकिन्छ । यसबाहेक टोलीमा निकै अनुभवी ब्याट्सम्यान सन्दीप सुनार पनि छन् । एपीएफबाट व्यावसायिक क्रिकेट खेल्ने सुनारले यू–१९ विश्वकप पनि खेलिसकेका छन् ।

नेपाली युवा टोली सम्भवत: अहिलेसम्मकै उत्कृष्ट लयमा देखिन्छ । सेमिफाइनलको यात्रा पहिलोपल्ट तय गरेको टोलीलाई अब गुमाउनु केही छैन । अब अगाडि छ त केवल अवसर । अफगानिस्तानसँग पुराना हारको बदलासँगै टोलीलाई पहिलोपल्ट फाइनल पुर्‍याउने सुवर्ण अवसर सिर्जना भएको छ । विगतका खेलमा झैं योजना कार्यान्वयन हुने र खेलाडीले आशातीत प्रदर्शन गर्ने हो भने इतिहासको अर्को पानामा पनि युवा टोलीले आफ्नो स्थान बनाउने छ ।

बंगलादेश र पाकिस्तान भिड्दै

एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान भिड्दै छन् । बंगलादेश नेपालसम्मिलित समूह ‘ए’ को विजेता बन्दै अगाडि बढेको हो । प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानसँग पराजित पाकिस्तान भने त्यसपछि लगातार दुई खेलमा जित दर्ता गर्दै दोस्रो चरण पुग्न सफल रह्यो । समूह ‘ए’ को विजेता बंगलादेशले समूह चरणका तीनै खेलमा जित हात पार्दै ६ अंक जोड्न सफल रह्यो । बंगलादेशले पहिलो खेलमा नेपालसँग २ विकेटको जित पाएको थियो । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थाबाट जित पाएको बंगलादेशले दोस्रो खेल मलेसियालाई २ सय ६२ रनको भारी अन्तरले हरायो ।

दुवै खेल जिते पनि बंगलादेशको दोस्रो चरण पक्का भइसकेको थिएन । भारतविरुद्ध जित हात पारे सेमिफाइनलमा स्थान पक्का हुने समीकरण थियो । बंगलादेशले अन्तिम खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै स्थान सुरक्षित बनायो । त्यसको फाइदा नेपाललाई पनि पुग्यो । चौथो संस्करणसम्म आइपुग्दा नेपालले पहिलोपल्ट सेमिफाइनलयात्रा तय गर्‍यो । अर्कोतर्फ भारत पहिलोपल्ट एसिया कपको दोस्रो चरण पुग्न असफल रह्यो । पहिलो दुई संस्करणमा समूह चरणबाट बाहिरिएको बंगलादेशले पनि लगातार दोस्रोपल्ट सेमिफाइनल पक्का गरेको हो ।

पहिलो संस्करणमा भारतसँगको संयुक्त विजेता पाकिस्तान दोस्रो संस्करणको फाइनलमा भारतसँगै पराजित भएको थियो । तर तेस्रो संस्करणमा रनरेटले पछाडि परेपछि उसको यात्रा समूह चरणमै समेटियो । जारी प्रतियोगितामा अफगानिस्तानविरुद्ध लज्जास्पद हार बेहोरेको पाकिस्तानले राम्रो पुनरागमन गर्‍यो । यूएईलाई २ सय २६ रनले हराएको पाकिस्तानले अन्तिम खेलमा साबिक उपविजेता श्रीलंकालाई ३ विकेटले हरायो । सोही हार श्रीलंकालाई दोस्रो चरण पुग्न बाधक बन्यो । बंगलादेश अपराजित रहने एकमात्र टोली हो । नेपालसँग निकै प्रतिस्पर्धात्मक खेलमा जित पाएपछि टोलीले दुवै खेलमा सहजै विजय हासिल गरेको थियो । पहिलोपल्ट फाइनल पुग्ने अभियानलाई सार्थक पार्न बंगलादेशले दुईपटक फाइनल पुगेको पाकिस्तानलाई हराउनुपर्नेछ ।

 

प्रतिक्रिया

Related Post

क्रोएसिया विश्वकप नजिक – एएफपी, जाग्रेब

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकपमा छनोटको नजिक पुगेको छ । बिहीबार रातिको छनोट प्ले अफ पहिलो लेगमा…

ब्राजिल यू १७ विश्वकपको तेस्रो स्थानमा

Posted by - October 30, 2017 0
सकेन । प्रतियोगितामा ६ गोल गरेका लासाना एन्डिययेले सम्हालेको मालीको अग्रपंक्तिलाई ब्राजिली गोलकिपर ग्याब्रियल ब्राजाओले निरास पारेका थिए । उनले…

नेपालको एसिया कप छनोटको सम्भावना लगभग समाप्त

Posted by - October 27, 2017 0
काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल…

पेरु ३६ वर्षपछि विश्वकपमा, यी हुन् २०१८ मा छनोट भएका टिम

Posted by - November 16, 2017 0
पेरु दस खेलयता अपराजित छ, जुन उसको ७५ वर्षयताकै सबभन्दा सुखद हो । विश्वकपमा छनोट भएको खुशीयालीमा पेरुभियन सरकारले विहीबार…
%d bloggers like this: