वधशाला एकदमै कम स्वास्नीमान्छेहरुले मात्र स्वास्नीमान्छे हुने अवसर पाएका छन् । l

99 0

आश्विन १५, २०७३-नर्सिङहोमको मूलढोकामा पुग्दा झमक्क साँझ परेको थियो । पालेका थकित आँखाले उसलाई चिनेझैँ नियालेपछि ऊ अर्कोतिर छड्की । एम्बुलेन्सको हतास ध्वनि धेरैचोटि ओहोरदोहोर गरिसक्दा पनि उसको श्रीमान् आइपुगेको थिएन । लगत्तै टिरिङटिरिङ मोबाइल बज्यो । ‘हेल्लो, हजुर, म त जान्नँ एक्लै । हजुर पनि आइस्यो न । काँ नि था छैन । अँ ह म चिन्दिनँ । ल न त ल ।’

अस्पतालको दाहिने पर्खालको भित्तामा ठोक्किए उसका आँखा । एउटी बालिकाको तस्बिरमुन्तिर लेखिएको थियो, ‘छोरी नभए बुहारी कहाँबाट ल्याउने ?’ अरिंगालले चिलेझैँ चिल्न थाल्यो त्यो वाक्यले उसलाई ।

ऊ हतारिँदै रिसेप्सनिस्टको छेउमा पुगी र सोधी, ‘डाक्टर रीता कहाँ हुनुहुन्छ ?’ रिसेप्सनिस्टले मुस्कुराउँदै सोधी, ‘ए तपाईं नीतु हो ?’

‘हो । कसरी चिन्नुभो ?’

‘डाक्साबले रुम नं २२ मा पठाउनु भन्नुभा’को छ ।’

ऊ सिँढीतिर गई । सिँढी चढ्ने जाँगर चलेन । लिफ्ट चढी । भित्ताको ऐनामा आफूलाई नियाली । धारिलो तरबार उध्याइरहेको एउटा बगरेजस्तो देखी आफूलाई ।

ऊ रुम नं २२ भित्र छिरी । गोरी राम्री २२ नकटेकी नर्स आई । नीलो गाउन उसलाई दिँदै भनी, ‘यो कपडा चेन्ज गर्नुस् र कुल भएर यो खाटमा सुत्नुस् । एक छिनमा डाक्साप आउनुहुन्छ ।’

नर्सिङहोममा क्रमैसँग शून्यता छाउँदै गएको थियो । नीरवताले उसलाई छपक्क छोपेको थियो । ऊ लोग्नेको बाटो हेरेर खाटमा सुतिरही । उसले विगत सम्झी— पढाइ सिध्याएर बिहे गर्छुभन्दा बाउआमा मान्दै मानेका थिएनन् । बाध्य भएर बिहे गर्नुपर्‍यो । हत्केलाले आँसु पुछी । मनमनै सोच्न थाली, ‘यो समाजले स्वास्नीमान्छेलाई हरतरहले कमजोर अनि अपराधी साबित गरिरहेको हुन्छ ।’

माइती नेपालले फर्काएका किशोरीका ती सपना र जलेका अनुहारहरू देखी । मलाया रोडको पूर्वाञ्चल अनाथाश्रमका ती केटाकेटीका निश्छल अनुहार उसको आँखामा नाच्न थाले । मान्छे किन यतिबिघ्न डराउँछ बच्चादेखि । अनाथालयमा छोराभन्दा छोरीकै संख्या बढी छ । किन छोरीदेखि यति सारो डराउँछ यो समाज ? आफन्तका ती मिश्रित अनुहार, माया गर्ने लोग्नेको दबाब । छामी आफ्नो पेट । नजानिँदो गरी सुम्सुम्याई आफ्नै छाती ।

बिहे गरेको यतिका वर्षपछि आमा बन्न लाग्दा नीतु खुसी हुनु स्वाभाविक थियो । उसले एक दिन आफ्नो लोग्नेलाई सोधेकी थिई, ‘तपाईंलाई संसारको सुन्दर चीज के लाग्छ ?’

उसको लोग्नेले भनेको थियो, ‘तिमी ।’

उसले फेरि सोधी, ‘सुन्दर अनुभूति ?’

‘तिम्रो माया ।’

‘संसारको सुख नि ?’

‘तिम्रो खुसी ।’

तीनै प्रश्न नीतुलाई सोधेको थियो रोहनले ।

‘यो कुरा हामीलाई भन्न अप्ठ्यारो छ,’ उसले उदास जवाफ दिएकी थिई ।

‘किन ?’

एकदमै कम स्वास्नीमान्छेहरूले मात्र स्वास्नीमान्छे हुने अवसर पाएका छन् । म केवल स्वास्नीमान्छे मात्र भएर भनेँ भने ‘संसारको सुन्दर चीज सन्तान हो । सुन्दर अनुभूति सन्तानको माया हो । सुख सन्तानसुख हो । र, संसारको उत्कृष्ट आनन्द स्तनपान गराउनु हो । जुन तपाईंहरूले अनुभव नै गर्न सक्नुहुन्न ।’

‘स्वास्नीमान्छे यो समाज होइन । त्यसैले स्वास्नीमान्छेलाई समाजले चिन्दैन । सदियाँैदेखि समाजले नचिन्दा–नचिन्दा उनीहरूले आफ्नो अनुहार भुलेका छन् । टेकेको धर्ती देख्न सकेका छैनन् । आफ्नो ढुकढुकी बिर्सिएका छन् ।’ ऊ आफ्नै मनोवादमा भावुक भएर डुबेकी थिई । घरक्क ढोका खोलियो ।

सेतो एप्रोन लगाएकी पूरै मेकअपमा देखा परिन् डा. रीता । नीतुले उसलाई तलदेखि माथिसम्म नियाली । एक सभ्य, सुग्घर सफा र पढे–लेखेकी बगरे भन्दा पर देखिन् ।

डाक्टरले मीठो आवाजमा भनिन्, ‘धेरै बेर कुर्नुपर्‍यो क्यारे । सरी है !’

‘ठीकै छ’ उदास स्वरमा नीतु बोली ।

‘तपाईंको श्रीमान्सँग मेरो कुरा भएको थियो । वहाँ साह्रै असल र राम्रो मान्छे । परिवार पनि शिक्षित र राम्रो छ । तपाईंको श्रीमान् र म त स्कुलदेखिकै साथी हौँ नि !’

उसले ‘थाहा छ’ भन्दै मुन्टो हल्लाई ।

‘के गर्नु जमाना महँगो छ । एउटाभन्दा बढी सन्तानलाई पाउन र हुर्काउनै मुस्किल छ । तपाईंहरूले ठीक निर्णय गर्नुभ’को छ । आजभोलि धेरैले यसै गर्छन् ।’

‘हामीले यसो नगरिदिने हो भने तपाईंहरूका नर्सिङहोमहरू पनि त चल्ने थिएनन् नि हैन त डाक्टर साप् ?’

‘त्यस्तो त हैन ।’

‘मैले एबोर्सन गर्दा कति खर्च लाग्छ ?’

‘सबै हिसाब रोहनसँग भइसकेको छ ।’

‘त्यसो भए म तपाईंलाई थप पैसा दिन्छु । श्रीमान्बाट लिने पैसा पनि लिनुहोला । एबोर्सन गरेको भनिदिनुस् तर म एबोर्सन गर्न चाहन्नँ ।’

नीतुको अकल्पनीय कुराले डाक्टर रीता खुब रिसाई । ‘तपार्इं मसँग ठट्टा गर्न आउनुभ’को ?’

‘डाक्टर साप् म तपाईंको नर्सिङहोमलाई बधशाला देखिरहेकी छु । म तपाईंलाई बगरे देखिरहेकी छु । तपाईंको पेसा भ्रूणको हलाल गर्नु हैन । यो भवनको भित्ताभरि भ्रूणको चीत्कार सुनिरहेकी छु ।’

नीतु पागलझैँ चिच्च्याइरहेकी थिई । ढोकामा लोग्नेलाई देखी र कराउन थाली, ‘तेरो प्रेममा झूट छ । सभ्यताका नाममा मेरो कोखमाथि किन हतियार लागउँछस् ? यो तानाशाही सभ्यता कहिले प्रेमको नाममा मारिदिन्छ । कहिले वंश चलाउने नाममा मारिदिन्छ । मेरो १५ हप्ता पुगिसकेको यो गर्भ तेरो वंश बचाउनका लागि हत्या गरिदिने छैन ।’

‘त्यसो नभन नीतु । समाजका अगाडि इज्जतको सबाल छ । तिमी यति ठूलो स्वरले नबोल । लाज हुन्छ । सुन्छन् मान्छेले,’ रोहन साह्रै नम्र भएर भन्दै थियो ।

‘मलाई समाज थर्किने गरी कराउनु छ । सबैलाई सुनाउनु छ । यो समाज मान्छेको हृदय जलाएर बत्ती बाल्ने प्रयत्न गरिरहेको छ ।’

ऊ निकै बेरसम्म कराई रही । उसको अनुहार थकित देखिन्थ्यो । स्थिति असामान्य बन्दै गएको थियो । झन्डै आधा घन्टापछि शिथिल आवाजमा भनी, ‘हजुरलाई त्यस्तै लाग्छ भने अर्को दिन आएर एबोर्सन गरौँला । एक दिन मात्र बढी भए पनि म मेरो कोख भरिएको अनुभव गर्न चाहन्छु ।’

उनीहरू घर फर्किए । बाटोभरि रोहनले नीतुलाई सम्झाइरह्यो । तर ऊ केही बोलिनँ ।

लोग्ने अफिस गएको समय पारेर अर्को दिन नीतु विराटनगरकै अर्को चर्चित नर्सिङहोममा गई ।

त्यस नर्सिङहोमको मूलद्वारको भित्तामा पनि लेखिएको थियो, ‘छोरी नभए बुहारी कहाँबाट ल्याउने ?’ यो वाक्यले पुन: उसलाई चिल्न थाल्यो ।

अस्पतालमा खासै भीड थिएन । टिकट काटी । नमस्कार गर्दै डाक्टरको कक्षमा छिरी । डाक्टर फोनमा व्यस्त थियो । बस्नुस्को संकेत गर्दै डाक्टरले सोध्यो, ‘के समस्या छ ?’

उसले भनी, ‘मेरो पेटमा १५ हप्ता पुगिसकेको छोरी गर्भ छ । यसलाई एबोर्सन गर्नुहुन्छ ?’

‘कसको हो पेट ?’

‘मेरै श्रीमान्को हो ।’

‘किन एबोर्सन गर्न लाग्नुभएको ?’

‘छोरी छ त्यसैले ।’

‘पहिला अरू सन्तान पनि छन् कि ?’

‘छैनन् ।’

‘किन त ? अर्को पाउनुस् न ।’

‘एक मात्र सन्तान पाउने ।’

‘हुन्छ नि त । त्यसो भए भोलि ९ बजे आउनुस् ।’

भोलिपल्ट नौ बजे ऊ अस्पताल छिरिसकेकी थिई । त्यो नर्सिङहोम पनि बधशालाभन्दा कम लाग्दैनथ्यो ।

एबोर्सन कक्षमा छिरेपछि डाक्टरलाई भनी, ‘म तपाईंलाई लाग्ने सम्पूर्ण फी दिन्छु । एबोर्सन गरेको रिपोर्टहरू सबै बनाइदिनुस् । तर म मेरो बच्चाको ढुकढुकी अनुभूति गरिरहेकी छु । उसको आवाज सुनेझँै लाग्छ । यसले आमा भनेर मलाई बोलाएझैँ लाग्छ । त्यसैले मलाई यो बच्चा बचाउन तपाईं सहयोग गरिदिनुस् । मेरो श्रीमान् आउनुहुन्छ त्यसबेला म बिरामी भएको अभिनय गर्नेछु । एउटा गर्भ फाल्ने महिलालाई जसरी उपचार र व्यवहार गर्नुहुन्छ, त्यस्तै व्यवहार मलाई पनि गर्नुस् ।’

डाक्टरले भन्यो, ‘त्यसको लागि थप फी तिर्नुपर्छ ।’

‘हुन्छ । म ५ हजार थपिदिन्छु ।’

डाक्टर यतिमै खुसी भो । पल्लो कोठाबाट एबोर्सन गराउँदै गरेकी महिला चिच्याउँदै थिई ।

ऊ घर पुग्दा उसका सम्पूर्ण परिवारका अनुहार उज्याला थिए । मानाँै एउटा युद्ध जितेर फर्किएको सिपाही थिई ऊ । जतनले सबै जना मिलेर उसलाई ओछ्यानमा सुताए । सुत्केरीलाई झैँ माया गरे । यो माया देखेर ऊ आजित थिई ।

ऊ ओछ्यानमा ढलिरहेकी थिई । लोग्ने आयो अनि नीतुको कपाल सुम्सुम्याउँदै भन्यो, ‘मेरी माया अब चैँ छोरै पाइदेऊ है ।’

नीतुले आफ्नो पेट छामी र लोग्नेका आँखामा भावशून्य भएर हेरिरही ।

l

प्रतिक्रिया

Related Post

कसलाई र किन मत

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभाका लागि जनप्रतिनिधिहरूको चुनाव कुनै ठूलै अनिष्ट…

स्वास्थ्यसेवा सुधारको खाँचो l

Posted by - October 30, 2017 0
कार्तिक १०, २०७४-नेपालका प्रमुख राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएनन् । अपवाद छाडेर नेतृत्व सम्हाल्नेहरू स्वास्थ्य क्षेत्रको सुधारप्रति उदासीन भई…

घोषणापत्रमा कृषि विकासको रंगीन सपना – कृष्णप्रसाद पौडेल

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-पार्टीहरूका घोषणापत्रमा लेखिएका कृषि विकासका रणनीति, योजना र कार्यक्रम पढिसक्दा लाग्यो, दलबदल, साँठगाँठ र तालमेलको नयाँ सिद्धान्त बनाएका…

विघटित संसद्ले दोष बोक्ने कि नबोक्ने ? – हरिबहादुर थापा

Posted by - November 17, 2017 0
मंसिर १, २०७४-संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो…
%d bloggers like this: